कोभिडविरुद्ध चिनियाँ खोप प्रतिस्पर्धामै 

मेक्सिकोद्वारा दुई चिनियाँ खोप लगाउन स्वीकृत 
शुक्रबार, माघ ३०, २०७७

मेक्सिको सिटी । मेक्सिकोको औषधि व्यवस्थापनसम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । 
मेक्सिकोका स्वास्थ्य अधिकारीका अनुसार स्वीकृत गरिएका खोपमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् ।
मेक्सिकोमा कोरोनाभाइरस सङ्क्रमणसँग जुधिरहेको सरकारका लागि खोपहरु स्वीकृत गर्नुको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताए । 
महामारी नियन्त्रण संयोजन समितिका प्रवक्तासमेत रहेका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलन गरी दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिएका हुन् । क्यानसिनो र सिनोभ्याकको कोरोनाभ्याकका अलाबा मेक्सिकोले अरु तीनवटा खोपलाई पनि मान्यता प्रदान गरिसकेको छ । मेक्सिकोको नियामक निकायले हालसम्म फाइजर, अस्ट्राजेनिका र रसियाका स्पुतनिक भीलाई मान्यता दिइसकेको छ । गत डिसेम्बरको अन्त्यतिर मेक्सिकोले खोपलाई मान्यता दिएको थियो । दक्षिण अमेरिकामा चिली र कोस्टारिकाले पनि खोप अनुमति दिइसकेका छन् । मेक्सिकोमा हालसम्म फाइजरको खोप मात्र प्रयोगमा आएको छ । हालसम्म उक्त खोप अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र मुलुकको दक्षिणी क्षेत्रका शिक्षकलाई दिइसकेको छ । मेक्सिकोमा अस्ट्राजेनिकाको खोप भने गत जनवरीमा आइपुगेको छ । यो खोप स्थानीय तहसम्म वितरण र दक्षिण अमेरिकी मुलुकहरुमा आगामी मार्चसम्ममा पुगिसक्ने अनुमान गरिएको छ । मेक्सिकोमा कोभिड–१९ को सङ्क्रमणबाट एक लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ भने झण्डै २० लाख मानिस सङ्क्रमित भएका थिए । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको यो संख्या विश्वमै तेस्रो बढी हो । पहिलो स्थानमा संयुक्तराज्य अमेरिका (चार लाख ८३ हजार) रहेको छ भने दोस्रो स्थानमा ब्राजिल (दुई लाख ३४ हजार) रहेको छ ।

चीनले जिम्बाबेलाई निःशुल्क कोरोना खोप दिने 

 चिनियाँ खोप निःशुल्क पाउने अफ्रिकी मुलुकहरूको सूचीमा जिम्बाबे तेस्रो क्रममा परेको छ । चीनले जिम्बाबेलाई पहिलो चरणमा सिनो फार्मको दुई लाख खोप दिन लागेको हो । खोप यही फेब्रुअरी १५ सम्ममा जिम्बाबेमा ल्याइसकिने अनुमान गरिएको छ ।  एक करोड ६० लाख जनसङ्ख्या रहेको अफ्रिकी मुलुक जिम्बाबेलाई चीनसहित रुस र भारतले समेत कोरोनाविरुद्धको खोप सहयोग गरेका छन् । जिम्बाबेमा कोरोनाभाइरसबाट अहिलेसम्म ३४ हजार ८६४ जना सङ्क्रमित भएका छन् भने एक हजार ३६४ जनाको मृत्यु भएको छ । यसैबीच राष्ट्रपति जिम्बाबेका राष्ट्रपति इमर्सन नाङ्गावाले खोप अभियान छिट्टै शुरु गरिने जनाएका छन् । उनले भने, ‘सवैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै सामान्य अवस्था हुन्छ ।’ उनले भने, ‘जनजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा पु¥याउनका लागि अधिकांश नागरिकलाई खोप लगाउनु आवश्यक छ ।’सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले चीन र रूसको सहकार्यमा सवै नागरिकलाई खोप लगाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
‘जिम्बाबेका जनताका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेकोमा चीन र रूसलाई धन्यवाद दिन चाहन्छु’, ट्वीटरमा लेखिएको छ ।–सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार