लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमै लमजुङमा बलात्कारकाे आरोपमा एक पक्राउ

बुधबार, मंसिर २२, २०७८

लमजुङ, २२ मंसिर : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला लमजुङमा बलात्कारकाेआरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यही अभियानकै क्रममा लमजुङमा फरक क्षमता भएकी २५ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

बलात्कार आरोपमा प्रहरीले बेँसीसहर नगरपालिका- १० का ४१ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको हो । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास क्षेत्रमा सामान्य ठेक्कापट्टा गर्दै आएका गुरुङले जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको छ । 
उनले जिल्ला अदालतबाट मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको बताए । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालू आवको साउनदेखि मंसिर २१ सम्म १२ वटा बलत्कारका घटना दर्ता भएका छन् । 

बालिका बलात्कार मुद्दामा १८ वर्ष कैद


संखुवासभामा १३ वर्षीय बालिका बलात्कार मुद्दामा अदालतले युवकलाई दाेषी ठहर गर्दै १८ वर्ष कैद सजाय फैसला गरेकाे  छ ।

१३ वर्षीया बालिकालाई बलात्कार मुद्दामा खाँदबारी नगरपालिका-९ का १९ वर्षीय समीर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला जिल्ला अदालत संखुवासभाले गरेकाे हाे ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको २० मंसिरको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै कसुरदारबाट ६ लाख जरिवानासँगै ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन र पीडिले राहत कोषमा  २२ सय रुपैयाँ जम्मा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईले बताए ।

पीडित बालिकालाई आरोपितले गत वैशाखमा बलात्कार गरेको मुद्दा परेकाे थियाे ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार