बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता

मंगलबार, मंसिर २१, २०७८

रुपन्देही, २१ मङ्सिर ।सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारका आफन्तले बेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै अदालतमा परमादेश रिट दर्ता गरेका छन् ।   रुपन्देहीको रोहिणी गाउँपालिका–५ का  बुधु पासीले आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा परमादेश रिट दर्ता गराएका हुन् । उनका दाजु रामपलट भन्ने लौटु पासीलाई २०६० चैत ११ मा बेपत्ता भएका थिए । साविक बोधबार गाविस वडा नम्बर ३ का पासीलाई तत्कालीन समयमा नेपाली सेनाको टोलीले माओवादी भएको आरोपमा नियन्त्रणमा लिएको थियो । सेनाले २०६१ जेठ २५ गते सोमबारका दिन अन्तिम भेट गर्न दिए पनि त्यसपछि नदिएको भाइ बुधुले बताए । 
अहिलेसम्म पनि दाजुको अवस्था पत्ता नलागेपछि बुधुले भदौ १३ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर गएका थिए । प्रहरीले जाहेरी नलिएपछि भदौ १६ मा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ताको प्रयास गरेका  थिए तर उक्त कार्यालयले समेत मुद्दा दर्ता र दरपिट दुवै नगरेपछि पीडित बुधु बाध्य भएर अदालत गएका हुन् ।  
यसअघि उनी पटकपटक जिल्ला प्रशाशन कार्यालय, स्थानीय शान्ति समितिलगायतमा आफन्तको अवस्था सार्वजनिक गर्न माग गरेका थिए । यद्यपि ती कार्यालयले बेपत्ता आयोगको काम भन्दै चासो दिएका थिएनन् । द्वन्द्वमा मारिएका दाजुको न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय र सरकारी न्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ता नभएपछि बुधु अदालत गएको द्वन्द्व पीडितको पक्षमा वकालत गरिरहेकी अधिवक्ता इन्दिरा आचार्यले जानकारी दिइन् । अदालतले रिटमाथि आउँदो शुक्रबारका लागि पेशी तोकेको छ । विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म बेपत्ताको अवस्था सार्वजनिक भएको छैन ।  
रुपन्देहीमा धनकुमारी थारुलगायत अन्य बेपत्ताका परिवारले समेत आफन्तको खोजी गरिदिन माग गर्दै प्रहरीमा जाहेरीको प्रयास गरेका थिए । यद्यपि प्रहरीले जाहेरी लिएको छैन । 

प्रहरी हितासतमा मृत्यु भएका यादवको पिताद्वारा सर्वोच्चमा रिट
     
सर्वोच्च अदालतमा ललितपुरको प्रहरी हिरासतमा मृत्यु भएका दुर्गेश यादवको परिवारले आफूहरूले दिएको जाहेरीमा अनुसन्धान नगर्ने भनी गरेको निर्णय खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
यादवका पिता सुधाराम यादवले आज उक्त  रिट निवेदन दायर गरेका हुन् । उक्त निवेदनमा यही मङ्सिर २३ गते  सुनुवाइका लागि पेसी तोकिएको छ । जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका यादवले २०७७ असार २८ गते प्रहरी हिरासतमा आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको थियो । सप्तरीको सिराहा नगरपालिका–७ का यादवले ललितपुर प्रहरी परिसरस्थित शौचालयको झ्यालको रडमा तन्नाको पासो लगाएर आत्महत्या गरेको प्रहरीको अध्ययनमा थियो ।
यादवका परिवारले प्रहरीको प्रतिवेदन झुटो भएको आरोप लगाएको छ । कार्यस्थलमा रहेका प्रहरी र जाहेरी दिने युवतीमाथि छानबिनको माग गर्दै प्रहरीमा परिवारले जाहेरी दिए पनि प्रहरीले जाहेरीमाथि थप अनुसन्धान गरेर मुद्दा चलाउन नसक्ने निर्णय गरेपछि दुर्गेशका पिताले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
संविधान र कानूनप्रदत्त हक अधिकारको संरक्षणका लागि नेपालको प्रचलित कानूनबमोजिम विपक्षी महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरको नाउँमा परमादेश जारी गर्न मागसमेत रिट निवेदनमा गरिएको छ ।

भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश
सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्ति भएका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा भण्डारी हटाउने सरकारले निर्णय गरेको थियो । सरकारको उक्त सो निर्णविरुद्ध भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । अदालतको अन्तरिम आदेशसँगै भण्डारी पुनर्बहाली भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार