कांग्रेसले कोरोना महामारीका बेलामा महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा

सोमबार, मंसिर २०, २०७८

काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज उनले कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताए । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।
प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह समेत गरे । उनले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक पुनः सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गरे । 
आफू अहिले गठनबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उनको भनाइ थियो । साथै उनले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराए । 
प्रधानमन्त्री देउवाले फरक प्रसंगमा सत्ता गठबन्धन दलहरुबीच चुनावी गठनबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको र बाँकी निर्वाचनमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताए । 

महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवाले पार्टीको आसन्न १४ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल तय गरेका छन् । 
पार्टी  केन्द्रीय कार्यालय सानेपामा आज साँझ उनको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार