नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिएसँगै उच्च सतर्कता

सोमबार, मंसिर २०, २०७८

काठमाडौँ, २० मङ्सिर । नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । 
उनका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हँुदै त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । 
दुवै जनाको प्रयोगशालाको जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोन देखिएको हो । नेपालमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण २०७६ माघ ९ गते देखिएको थियो । चीनको वुहानबाट नेपाल आएका एक जनामा सङ्क्रमण देखिएको थियो । 
विदेशी नागरिकको सुरुमा नेपाल आउँदा पिसिआर गर्दा नेगेटिभ देखिएको र कोरोना भाइरस विरुद्धको खोपको मात्रा पूरा गरेको पाइएको थियो । त्यसपछि मङ्सिर ७ गते ती विदेशी र उनका नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्तिको कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजेटिभ आएको थियो ।
“कोभिड–१९ पोजिटिभ आएकाको S–gene परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरुप परीक्षण गर्दा दुवै जनाको नमूनामा क्–नभलभ फेला परेको थिएन”, उनले भने, “क्–नभलभ फेला नपरेका उक्त दुवै नमूनाको टेकु प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको हो ।” 

उनका अनुसार हाल दुवै जना सरकारले तोकेको मापदण्डानुसार आइसोलेसनमा रही स्वास्थ्यलाभ गरिरहेका छन् । ती दुई सङ्क्रमितमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । मन्त्रालयले उक्त दुई व्यक्तिसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङगमा रहेका ६६ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको छ । 

ओमिक्रोन रोकथामका प्रयास

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको उनले बताए । 
ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको छ । नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेकोे छ । 
यस्तै खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्णमात्रा खोप नलगाएका र शङ्कास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । 
एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमूना सङकलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमूनाको जीन सिक्वेन्सिङ  गर्ने गरिएको छ ।
यस्तै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाको थप परीक्षण गर्ने गरिएको उनले बताए । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन फैलिन नदिन दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्बे, नामिबीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णयसमेत गरेको छ । 
ओमिक्रोन भाइरस सर्ने दर र सङक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यको खोज भइरहेको छ । ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेका छन् । 
कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको सङक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सवै मापदण्डको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत रामो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ । 
ओमिक्रोन  भेरियन्ट विश्वका ३५ देशमा फैलिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ति देशमा ५७४ जना उक्त भेरियन्टबाट सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रारम्भिक आकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एशियाका केही देशमा समेत ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । भारतमा गत शुक्रबार मात्र सङ्क्रमण भएको पुष्टि भएको थियो । 

नयाँ भेरियन्टबाट बच्न प्रदेश सरकार सक्रिय

छिमेकी भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ ।
आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै यहाँका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिले यहाँका अस्पताल व्यवस्थापनमा जोड दिनाका साथै भेन्टिलेटर, सघन उपचार कक्ष, अक्सिजनलगायतका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
स्वास्थ्य क्षेत्रमा जनशक्तिको व्यवस्थापनलाई पनि जोड दिइएको छ । स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भने, “यहाँका सीमानाका भारतबाट आउनेको स्वास्थ्य परीक्षण हुन्छ ।” उनले शङ्कास्पद देखिएका बिरामीलाई क्वारेन्टिनमा राख्ने तयारीसमेत भइरहेको जनाकारी दिए ।  त्यसैगरी सुदूरपश्चिमबाट कोभिड–१९ को प्रजाती पत्ता लगाउन यहाँबाट नमूना सङ्कलन गरेर काठमाडौँ पठाउने काम भइरहेको छ ।

भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ  भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । 
कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 
भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ । उनले भने, “भारतबाट फर्किनेको  सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका छौं ।”
झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको हो । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।  
यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ । कोरोनाविरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ । 
पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतले जनाएको छ । –रासस
 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार