राजदूतत्रयको नाम अनुमोदन

सोमबार, मंसिर २०, २०७८

काठमाडौँ, २० मङ्सिर । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।  समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिए ।

यसअघि संसदीय समितिको सनुवाइमा प्रस्तावित तीन राजदूत सहभागी भएका थिए । संसदीय सुनुवाइ समितिले भारत, संयुक्तअधिराज्य बेलायत र संयुक्तराज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ गरेको हो । 
सरकारले भारतका लागि  डा शङ्कर शर्मा, बेलायतका लागि  ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतमा प्रस्ताव गरी सुनुवाइका लागि संसद्मा पठाएको थियो । 
सुनुवाइका क्रममा प्रस्तावित राजदूतले आफ्नो अनुभव, योग्यता, क्षमता, सोंच र अवधारणा प्रस्तुत गरेका थिए ।  यसअघि समितिको आजको पहिलो बैठकमा प्रस्तावित राजदूतको नाम सिफारिमा समाबेशीताको प्रश्न उठाएर उजुरी गरेका उज्वलकृष्ण श्रेष्ठसँग छलफल गरिएको थियो । 
उनीहरु तीनै जनाको संसदीय सुनुवाइका लागि यसअघि बोलाइएको बैठक आवश्यक गणपूरक सङ्ख्या न्यून भएपछि स्थगन भएको थियो । ती मुलुकमा यसअघि रहनुभएका राजदूत नीलाम्बर आचार्य, डा युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई  फिर्ता बोलाएपछि त्यहाँ नेपाली राजदूत खाली रहदैआएको छ । राजदूतको संसदीय सुनुवाइको सुरुआत बेलायतका लागि प्रस्तावित राजदूत आचार्यबाट भएको थियो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार