ओस्लोमा क्रिसमस भोजमा सहभागी कम्तीमा १७ व्यक्तिलाई ओमिक्रोन सङ्क्रमण भएको आशङ्का 

शुक्रबार, मंसिर १७, २०७८

ओस्लो, १७ मङ्सिर । गत साता ओस्लोमा १०० भन्दा बढी पाहुना भेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्तीमा १७ जनालाई ओमिक्रोन भेरिएन्ट भएको आशङ्का गरिएको ओस्लोका सहरी अधिकारीहरूले बताएका छन् ।
पार्टी जानेहरूमध्ये कोभिड सङ्क्रमण पुष्टि भएका अन्य व्यक्तिमा पनि ओमिक्रोन भाइरस देखिने सम्भावना भएकोले ओमिक्रोन सङ्क्रमित बढ्ने सम्भावना देखिएको छ । 
ओस्लो नगर प्रशासनले भनेको छ, “अहिलेसम्म पीसीआर परीक्षण भएका ६० र एन्टिजेन परीक्षण गरिएका अन्य चार जनालाई कोभिड सङ्क्रमण पुष्टि भएको छ ।”
“१७ जनामा ओमिक्रोन सङ्क्रमणको प्रबल सम्भावना छ । तर त्यो अझै पक्का भएको छैन । अहिलेसम्म एक जनालाई ओमिक्रोन भएको पुष्टि गरिएको छ,” विज्ञप्तिमा भनिएको छ । 
भोजमा सहभागी करिब १२० जनामध्ये सबैले खोप लगाएको बताइएको छ । सङ्क्रमितमध्ये केही व्यक्ति हालै दक्षिण अफ्रिका यात्रा गरेका पनि बताइएको छ । उनीहरू गत शुक्रबार आफ्नो मालिकद्वारा आयोजित क्रिसमस भोजमा सहभागी भएका थिए ।
नगर स्वास्थ्य अधिकारी टिन राभ्लोले एएफपीसँग भने, “उनीहरू सबैलाई खोप लगाइएको थियो, तिनीहरूमध्ये कसैलाई पनि जटिल लक्षणहरू थिएनन् र तिनीहरू सबैले आफैँ परीक्षण गरेका थिए । भोजलगायत सबै कुरा कोभिड कानुनअनुसार गरिएको थियो र कुनै नियम भङ्ग गरिएको थिएन ।”
सङ्क्रमण देखिएका व्यक्तिमा सामान्य अहिलेसम्म टाउको दुख्ने, घाँटी दुख्ने र खोकी लाग्ने जस्ता हल्का लक्षण मात्र देखा परेका राभ्लोले बताए । कुनै–कुनै परीक्षणहरूमा जाँच गरेपछि ओमिक्रोनको शङ्का उत्पन्न भयो । यद्यपि सबैको पूर्णतया विश्लेषण गरिएको छैन । यसको अर्थ पुष्टि गरिएका घटनाहरूको सङ्ख्या बढ्न सक्छ । 
बिहीबार ओमिक्रोन सङ्क्रमणको शङ्कास्पद घटना देखा परेपछि नर्वे सरकारले ग्रेटर ओस्लोमा धेरै प्रतिबन्धको घोषणा गरेको छ र यो आजै मध्यरातदेखि लागू गरिएको छ ।

फ्रान्समा ओमिक्रोनबाट आठ जना सङ्क्रमित

फ्रान्समा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट आठ जना सङ्क्रमित भएका छन् ।  दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोनबाट आफ्नो देशमा पनि कम्तीमा आठ जनामा देखिएको फ्रान्सको जनस्वास्थ्यसम्वन्धी निकायले जनाएको छ । 
सो कार्यालयले फ्रान्समा कोरोनभाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुनेहरूको सङ्ख्यामा समेत वृद्धि भएको जनाएको छ । 
शुक्रबारसम्म फ्रान्समा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ७८ लाखभन्दा बढी पुगेको अधिकारीहरूले जनाएका छन् । 
उनीहरूका अनुसार कोरोनाकै कारण फ्रान्समा अहिलेसम्म एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । 
फ्रान्सको कूल जनसङ्ख्यामध्ये ७७.४ प्रतिशतले कम्तीमा एउटा कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भने ७५.८ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन्  ।– रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार