खोटाङमा मतदाता नामावली संकलनको तयारी

आइतबार, मंसिर १२, २०७८

खोटाङ, १२ मंसिर : आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटोसहितको मतदाता नामावली संकलनको तयारी थालिएको छ । आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पहिलो चरणमा १७ मंसिरदेखि २६ मंसिर र दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटोसहितको मतदाता नामावली संकलनको तयारी गरिएको हो । 

फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम तालिका अनुसार नै जिल्लामा ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका नासु लोकेन्द्रकुमार राईले बताए । 

जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको अवस्थामा अन्य पालिकाको हकमा मतदाता नामावली संकलन कार्यतालिका बनाइएको हो । 

१७ मंसिरदेखि २६ मंसिरसम्म केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नामावली संकलनको काम गरिने छ । यस्तै, २९ मंसिरदेखि ९ पुससम्म ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

फोटोसहितको मतदाता नामावली संकलनका लागि प्रत्येक पालिकामा २/२ जना कर्मचारी खटाइने छ । मतदाता नामावली संकलनका लागि १३ र १४ मंसिरमा कर्मचारी छनौट गरिने नासु राईले बताए । 

मतदाता नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित तोकिएको स्थानमा पुग्नुपर्ने छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्ने जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले मतदाता नामावली संकलनलाई सफल बनाउन दललाई आग्रह गरेका छन् । 

स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । यस अनुसार आगामी चैतअघि नै निर्वाचन गरिसक्नुपर्ने हुनाले जिल्लामा मतदाता नामावली संकलनको तयारी थालिएको हो ।

इलाममा १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर इलामको नौ स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ ।  पालिकास्तरमै नामदर्ता कर्मचारी खटाएर १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेकाे हाे । 

हरेक पालिकामा १० दिन फोटो खिच्ने र नाम दर्ता हुने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिए । इलाममा दुई चरणमा नामावली संकलन गरिँदैछ । पहिलो चरणमा पाँच वटा र दोस्रो चरणमा चार पालिकामा मतदाता नामावली संकलन हुनेछ । पहिलो चरणमा माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकामा नामावली संकलन हुनेछ । पालिकाको केन्द्रमा हुने नामावली १७ मंसिरबाट सुरु भएर २६ मंसिरमा सम्पन्न हुनेछ । 

यस्तै, दोस्रो चरणमा सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माई नगरपालिका र चुलाचुली गाउँपालिकामा मतदाता नामावली संकलन हुने छ । दोस्रो चरणमा मतदाता नामावली संकलन हुने पालिकाहरूमा २९ मंसिरबाट सुरु भएर ९ पुससम्म चल्नेछ । जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकामा भने विषेश कार्यक्रमअन्तर्गत मतदाता नामावली संकलन नहुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएकाले इलाममा विषेश कार्यक्रम नहुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् । 

स्थानीय तहको भन्दा फरक ठाउँको ठेगना भएकाहरू भने नामावली संकलन गराउनको लागि बसाई सराईको कागज पेश गर्नुपर्ने छ । अन्यत्र भएर विवाह गरेर आएकाहरूले भने विवाह दर्ताको प्रमाण पेश गर्नुपर्ने छ । स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलनको लागि यसअघि फोटोसहितको मतदाता नामावली संकलनमा खटिएका अनुभवी कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावली संकलनको लागि जिल्ला स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न भएको छ भने पालिकास्तरमा पनि सरोकारवालसँग अन्तरक्रिया गरिने छ । मतदाता नामावली संकलनका लागि कर्मचारीलाई तालिम दिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका भित्रै इलाममा पनि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार