सोसल मिडिया
Contact Us
युनिकोड
बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्दा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत फेला परेकी थिइन् । चडेपानीका केशब भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शङ्करदत्त भट्टको भनाइ छ । उनले भने, ‘विद्यालयबाट फर्किने बेला घटना भएको छ, यस घटनाले आफ्नो छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत मुस्कील भएको छ ।’मृतक किशोरीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । छोरी गुमाउँदा मृतककी आमा द्रोपती भट्ट निकै पीडामा रहकी छन् । श्रीमान् बितेको पीडा भुल्न नपाउँदै द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको हो । भागरथी विभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तको छ । कपडा च्यातिएको, शरीरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेकाले बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए । मृतकको किशोरी भागरथीको शव परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए । मृतक किशोरीको शव आफूहरुले नबुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । उनले भने, ‘अपराधी पत्ता लागेको छैन, आज शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ ।’ किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ । घटना शङ्कास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारी साधन सञ्चालन भएका थिए । ती सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए । उनले भने, ‘किशोरी सँगै पढ्ने सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ ।’घटनालाई गम्भीररुपमा लिएकोले अनुसन्धानलाई पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो । घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो । यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ ।
‘हत्यारालाई तत्काल कारवाही होस्’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति प्रकाशित गरी यही माघ २२ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी निवासी भट्टको बलात्कारपछि हत्या भएको घटनाले आफूहरु स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । विद्यालयबाट घर फर्किंदै गरेको बेला १७ वर्षीय किशोरी भागरथीमाथि भएको पाशविक र अमानवीय कुकृत्यको नेकपाले घोर भत्र्सना गरेको छ । अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, ‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ ।’ विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दै नेकपाले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ । नेकपाले मृतक किशोरी भागरथीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।–रासस