तपाईं समभावमा हुनुहुन्छ भने हरेक क्षण आध्यात्मिक बन्नेछन्

बिहीबार, मंसिर ९, २०७८

काठमाडौं, ९ मंसिर : आध्यात्मिकता भनेको कुनै विशेष अभ्यास होइन । यो एक प्रकारले हुने तरिका हो । त्यस स्थितिसम्म पुग्नको लागि, गर्नुपर्ने चीजहरू थुप्रै छन् । यो तपाईंको घरको बगैँचा जस्तै हो । यदि माटो, सूर्यको किरण र विरुवाको फेद एक निश्चित स्थितिमा छन् भने, त्यसमा फूल फुल्दैन । तपाईंले यसको लागि केही गर्नुपर्ने हुन्छ । तपाईंले ती चीजहरूमा विशेष ध्यान दिनुपर्छ । त्यसैगरी, यदि तपाईंले आफ्नो शरीर, मन, भावनाहरू तथा उर्जाको प्रयोग गरी निश्चित स्तरसम्म विकसित गर्दै लैजानुभयो भने, तपाईंभित्र केही प्रस्फुरित हुनेछ— यही आध्यात्मिकता हो । जब तपाईंको तर्क अपरिपक्व हुन्छ, यसले हरेक चीजप्रति सन्देह गर्दछ । जब तपाईंको तार्किक बुद्धि परिपक्व हुन्छ, यसले हरेक चीजलाई पूर्णतया फरक परिप्रेक्ष्यमा देख्दछ ।

जब व्यक्तिले आफूभन्दा केही विशाल चीजको अनुभव गर्दछ, तब त्यसलाई ′यो भगवान् हो′ भनेर हेर्ने गरिन्छ । ′भगवान्′ भन्ने बित्तिकै हामी त्यसलाई लक्षित गरिरहेका हुन्छौँ, जुन हामीभन्दा विशाल छ । यो कोही व्यक्ति हुन सक्दछ वा कुनै अनुभव वा प्रकृतिका केही आयामहरू समेत हुन सक्छन् । तर, के यही आधयात्मिकता हो ? होइन, यो केवल जीवन हो । जब म 'केवल जीवन' भनिरहको छु, म यसलाई झिनो कुराको रूपमा आँकलन गरिरहेको छैन । यो सबैभन्दा ठूलो कुरा हो । जब यो जीवन तपाईंलाई भाव विह्वल गर्ने शक्तिशाली र आनन्ददायक अनुभव बन्दछ, तबमात्र तपाईं यो जान्न चाहनुहुन्छ कि यसको रचयिता को हुन्— यसलाई कसले सृजना गरेका होलान् ?

यदि तपाईं सृष्टिको स्रोत वा यसको प्रक्रिया जान्न चाहनुहुन्छ भने, तपाईंले सबैभन्दा नजिकबाट जान्नुभएको सृष्टिको अंश भनेको आफ्नै शरीर हो, हैन र ? यसभित्रै स्रष्टा कैद छन् । तपाईंले उनलाई अनुभव गर्नबाट चुक्नु हुँदैन । यदि तपाईंले आफूभित्र सृष्टिको स्रोतलाई चिन्नुभयो भने, तपाईं आध्यात्मिक हो ।

एक नास्तिक आध्यात्मिक हुन सक्दैन । साथै, तपाईंले यो पनि बुझ्न जरूरी छ कि आस्तिक पनि आध्यात्मिक हुन सक्दैन । किनकि, नास्तिक र आस्तिकमा कुनै भिन्नता हुँदैन । पहिलोले यो मान्दछ कि भगवान् छैनन्, जबकि अर्कोले यो मान्दछ कि भगवान् छन् । दुवै थरीले यस्तो कुरालाई विश्वास गरिरहेका हुन्छन्, जसको बारेमा उनीहरू केही जान्दैनन् । तपाईंले इमान्दारीपूर्वक यो स्वीकार गरिरहनु भएको छैन कि तपाईंलाई थाहा छैन— यही तपाईंको समस्या हो । त्यसैले, नास्तिक र आस्तिक फरक होइनन् । उनीहरू एउटै किसिमका मानिसहरू हुन्, जो फरक भएको देखावटी गरिरहेका हुन्छन् । जबकि, आध्यात्मिक साधक न त आस्तिक हो, न त नास्तिक नै । उसलाई यो थाहा भएको हुन्छ कि ऊ केही पनि जान्दैन, त्यसैले ऊ खोज गरिरहेको हुन्छ ।

जुन क्षण तपाईं कुनै कुरामा विश्वास गर्नुहुन्छ, तपाईं बाँकी सबै कुराहरूप्रति अन्धो बन्नुहुन्छ । यस धरतीमा भएका सम्पूर्ण संघर्षहरू असल र खराबको बीचमा भइरहेका होइनन्— एउटा व्यक्तिको विश्वास विरूद्ध अर्को व्यक्तिको विश्वास बीच मात्रै संघर्ष भइरहेको हो । कुनै चीजमा विश्वास गर्नुपर्ने आवश्यकता आध्यात्मिक नभई मानसिक हो । तपाईं केही न केहीमा लिप्त हुन चाहनहुन्छ, तपाईं सुरक्षित महसुस गर्न चाहनुहुन्छ, तपाईं यस्तो महसुस गर्न चाहनुहुन्छ कि मानौँ तपाईं सबैथोक जान्नुहुन्छ । यो एकदमै अपरिपक्व दिमागको उपज हो । यदि तपाईं यो अस्तित्वको बारेमा केही पनि जान्नुहुन्न भने, यसमा समस्या के छ ? वास्तवमा, तपाईं केही पनि जान्नुहुन्न । यो सुन्दर कुरा हो ! बरु, तपाईं यसमा ध्यान दिनुहोस् कि आफूलाई भित्रबाट सुन्दर र आनन्दित कसरी बनाउने— किनकि, यो तपाईंकै हातमा छ ।

कुनै समुद्र वा पर्वतमा गएर नौलो अनुभवको खोज गर्नु सुन्दर र रमणीय लाग्न सक्दछ—तपाईंले यो संसारको पनि आनन्द लिनुपर्छ, तर साथसाथै, तपाईंले यो समेत बुझ्न जरूरी छ कि समुद्रमा रहने माछाले यसलाई आध्यात्मिक अनुभव ठान्दैन, न त पहाडहरूमा घुम्ने बाख्राले त्यसलाई आध्यात्मिक अनुभव ठान्छन् । किनकि, उनीहरू जहिल्यै त्यहीँ हुन्छन् । यदि तपाईंले तिनलाई शहरमा ल्याउनुभयो भने, तिनीहरू यसलाई चाहिँ आध्यात्मिक अनुभव ठान्न सक्छन् । वास्तवमा, यो के जस्तो हो भने तपाईंभित्रको केही अवरोध टुटेको हो— तपाईंभित्र केही प्रस्फुटित भएको हो । तपाईं एउटा सानो खोलभित्र हुनुहुन्थ्यो । त्यो फुट्यो, अनि तपाईं त्योभन्दा ठूलो खोलमा पुग्नुभयो । म के भनिरहेको छु भने, यदि तपाईं यसमा अभ्यस्त हुनुभयो भने, केही समयपछि यो ठूलो खोल पनि पहिलेको जस्तै प्रतीत हुन्छ ।

अतः यदि तपाईं असीम (असीमित) हुन चाहनुहूुन्छ, अनि तपाईं यसलाई आफ्नो भौतिकताको माध्यमले पाउने प्रयास गरिरहनु भएको छ भने, तपाईं मूलतः किस्ता-किस्तामा अनन्ततर्फ जाने प्रयत्न गरिरहनु भएको हुन्छ । के तपाईं १, २, ३, ४ गरेर गन्दै अनन्तसम्म गिन्ती गर्न सक्नुहुन्छ र ? तपाईंको गिन्ती कहिल्यै टुङ्गिने छैन । यो सही तरिका होइन । तपाईं भौतिक साधनहरूको माध्यमले असीम प्रकृतिसम्म पुग्न सक्नुहुन्न । हरेक मनुष्य असीम हुन चाहिरहेको हुन्छ । यदि तपाईंले उसलाई उसले चाहेको सबैथोक दिनुभयो भने, ऊ तीन दिनसम्म ठिक रहन्छ । तर, चौथो दिन ऊ अरू केही खोज्न थाल्दछ । केही मानिसहरू यसलाई लोभको संज्ञा दिन सक्छन्, तर म यसलाई गलत दिशामा चलिरहेको जीवन-प्रक्रिया भन्दछु । यदि तपाईं असीम प्रकृतिलाई जान्न चाहनुहुन्छ भने, तपाईंले त्यो आयामलाई अनुभव र अनुभूत गर्नुपर्छ जुन भौतिकभन्दा पर छ । केही यस्तो, जसलाई तपाईंले समुद्रमा हाम फाल्दा, कुनै हिमाल देख्दा, कुनै गीत गाउँदा, नाच्दा, आफ्ना आँखा बन्द गर्दा वा कुनै अनौठो तरिकाले स्पर्श गर्नुभएको हुन सक्छ । तपाईंले त्यसलाई छुनु त भयो, तर अब प्रश्न यो हो कि त्यसलाई कसरी थामी राख्ने ।

हामी तपाईंलाई एउटा सरल अभ्यास सिकाउन सक्छौं, जुन आत्मपरक हुन्छ अर्थात् व्यक्ति विशेषमा निर्भर गर्दछ । यदि तपाईं प्रतिबद्ध हुनुहुन्न भने, कुनै पनि आत्मपरक तकनिकीलाई त्यस्तो परिवेशमा सिकाउन सकिँदैन । यदि तपाईं आफ्नो लागि थोरै समय निकाल्न सक्नुहुन्छ, जहाँ तपाईं पूरै समर्पित, प्रतिबद्ध र एकचित्त हुनुहुन्छ भने, हामी तपाईंलाई एउटा सरल अभ्यास सिकाउन सक्छौँ । हरेक दिन केवल २१ मिनेटको अभ्यासबाट (इनर इन्जिनियरिङ्ग), तपाईं आफूभित्र एउटा अभूतपूर्व आध्यात्मिक अनुभवसहित आफ्नो दिनको सुरुवात गर्न सक्नुहुन्छ । यस्तो शक्तिशाली अनुभव, जसले तपाईंलाई पूरै दिन शान्त र आनन्दित बनाइ राख्दछ ।

यस अतिरिक्त, यसलाई कायम राखिरहनको लागि हरेक व्यक्तिले यो अभ्यास गर्नैपर्छ— तपाईं जे-जसमा संलग्न वा सहभागी हुनुहुन्छ, त्यसमा कुनै भेद नगर्नुहोस् । यदि तपाईंले कुनै व्यक्ति, रूख वा बादल हेर्नुभयो भने, सबैप्रति समान रूपको संलग्नता रहोस् । आफ्नै शरीर र श्वाससँग समेत समान रूपको संलग्नता रहोस् । यदि तपाईंमा यो उत्तम, त्यो उत्तम भनेर भेद गर्ने भाव छैन, अनि जीवनको हरेक पक्षमा समान भावले संलग्न हुनुहुन्छ भने, तपाईं हरेक क्षण आध्यात्मिक रहनुहुनेछ । तब, कसैले पनि तपाईंलाई यो सिकाउनु पर्दैन कि आध्यात्मिकता भनेको के हो ।

-सदगुरुको प्रवचनमा आधारित

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार