कांग्रेस अधिवेशन : प्युठानमा तनाव, प्रहरीले अश्रुर ग्यास प्रहार गर्‍यो, ६ जना घाइते

बुधबार, मंसिर ८, २०७८

प्युठान : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्युठानमा जिल्‍ला सभापतिको अधिवेशनमा तनाव भएको छ । स्वर्गद्वारी क्याम्पसमा अधिवेशन सम्पन्न भई मतगणना भइरहेका बेला तनाव भएको हो ।

कुल १०६५ मत खसेकोमा ६५ मत गणना गर्न बाँकी रहेका केही युवाले ढुंगामुडासहित अवरोध गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुरग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख सत्यनारायण थापाले भने, 'मतपरिनाम अन्तिम अवस्थामा पुग्दै गर्दा एक जत्थाले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ५ राउन्ड असुर ग्यास प्रहार गरेको छ । दुईजना प्रहरीसहित ६ जना घाइते भएका छन् ।'

उनकाअनुसार एक जना प्रहरी, एक सशस्त्र प्रहरी र अन्य चार जना सर्वसाधारण घाइते भएका छन् । घाइते प्रहरी कर्मचारी चन्द्रबहादुर गाहा मगरलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले अहिले अवस्था नियन्त्रणमा रहेको बताए । तर केही समयका लागि मतगणना रोकिएको र चाँडै सुरु गरिने उनको भनाइ छ । 'वत्तीको व्यवस्था गरेर चुडिएको डोरी मर्मत गरेर सुरु गर्ने तयारी निर्वाचन कार्यालयको छ,' उनले न्युज कारखानासँग भने । बाहिरबाट क्याम्पसमा ढुंगा प्रहार भएपछि घटना भएको उनले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न भएको भनेर कसैलाई नियन्त्रणमा लिइएको छैन ।  

रुपन्देही-२ मा पौडेल पक्षका उम्मेदवार कुटिए, मतगणना स्थगित

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय अधिवेशनमा उम्मेदवार कुटिएको घटना सेलाउन नपाउँदै बुटवलमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका क्रममा अर्का उम्मेद्वार कुटिएका छन् ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर २ को निर्वाचन अन्तर्गत मतगणनाका क्रममा दुई पक्षबीच कुटाकुट भएको हो । मतगणना चलिरहँदा विवाद भएपछि दुई गुटबीच झडप हुँदा पौडेल प्यानलका उम्मेद्वार दीर्घबहादुर केसी (कुमार) गम्भीर घाइते भएका छन् । उनी महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।

देउवा समूहका कार्यकर्ताबाट भएको कुटपिटका क्रममा केसीको मुखमा गम्भीर चोट लागेको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको कांग्रेस नगर सभापति खेलराज पाण्डेले जानकारी दिए । विवादले उग्ररुप लिई झडप भएपछि मतगणना स्थगित भएको छ । कुल ६६९ मतमध्ये ६०० मत गनिसक्दा पौडेल पक्षले अग्रता लिएपछि विवाद सुरु भएको थियो ।

यसअघि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा क को मतगणनाका क्रममा विवाद हुँदा देउवा पक्षको आक्रमणमा परी पौडेल पक्षका उम्मेदवार शैलेश पन्तसहित पाँचजना घाइते भएका थिए । सो क्षेत्रमा अझै रोकिएको मतगणना सुरु हुन सकेको छैन ।

यो घटना सेलाउन नपाउँदै क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा दुई पक्ष कुटाकुटमा उत्रिएका हुन् । यो क्षेत्रमा पौडेल पक्षबाट वर्तमान क्षेत्रीय सभापति रहेका हरि लम्साल र देउवा पक्षबाट मजदूर नेता काजीमान श्रेष्ठ नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार