विश्वमै तीव्र गतिमा उड्ने विद्युतीय विमान

मंगलबार, मंसिर ७, २०७८

लन्डन, ७ मंसिर । बेलायतको रोल्स–रोयस कम्पनीले विश्वमै  सबैभन्दा तीव्र गतिमा उड्ने विद्युतीय विमान आविश्कार गरेको दाबी गरेको छ । स्पिरिट अफ इनोभेसन विमान तीव्र गतिमा चल्ने विद्युतीय जहाज भएको रोल्स–रोयसले दाबी गरेको हो । विमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने कम्पनीको भनाई छ । एक साताअघि कम्पनीले विमानको परीक्षण उडान सम्पन्न गरेको थियो । तीन किलोमिटर उड्दा विमानको गति ५५५ दशमलब ९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२ दशमलब १ किलोमिटर प्रतिघण्टा पुगेको कम्पनीले जनाएको छ । २०२ सेकन्डमा ३,००० मिटरको उचाइमा पुगेर स्पिरिट अफ इनोभेसनले सबैभन्दा चाँडै सो उचाइमा पुग्ने रकेर्ड बनाएको बताइएको छ । विमान आविश्कार एउटा आश्चर्यजनक उपलब्धि भएको कम्पनीका निर्देशक फिल ओडेलले बताएका छन् । यसअघि सन् २०१७ मो जिमन्स विमान कम्पनीले निर्माण गरेको एक्स्ट्रा ३३० एरोब्याटिक विमान ४१० किलोमिटर प्रतिघण्टाको गतिमा उडेको थियो । रोल्स–रोयसले आफूले प्रयोग गरेको ‘प्रपल्सन ब्याट्री प्याक’ प्रभावकारी भएको दाबी गरेको छ । बेलायतको एरोस्पेस टेक्नोलोजी इन्स्टिच्युटले विमान निर्माणका लागि ५० प्रतिशत रकम अनुदान दिएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार