सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाँउमा हल्का वर्षा भइरहेको छ । उच्च हिमाली भूभागमा हिमपात भएको छ । आज अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । पश्चिमी वायु सक्रिय नभएकाले ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी भूभागमा आज ७.८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ । यस प्रणालीको प्रभाव शनिबार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ । देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।
हिमपात स् हवाई सेवा बन्द, जनजीवन प्रभावित हिमाली जिल्ला डोल्पामा भारी वर्षातसँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ । हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए । हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको छ । हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए ।
कृषक उत्साहित
लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए ।
हवाई सेवा बन्द हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ । धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ । काठमाडौँ र नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ ।
राजमार्ग अवरुद्ध बैतडी–बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ । उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा बिहीबार राति हिमपात भएको हो । बैतडीको सिगास, ढोल्यामोड, खोड्पे, अनारखोली, दार्चुलाको व्यास, अपीहिमाल, बझाङको बित्थड, बाजुराको पोरखे लेकसहित उच्च पहाडी क्षेत्रलगायत सुदूरपहाडमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।-रासस