सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । चन्द्रविनायक जात्राको तेस्रो दिन गणेश र भैरवलाई खटमा राखी पशुपति–चावहिल क्षेत्रमा घुमाइएको छ । नेपाल संवत् ८०० मा राजा भूपालेन्द्र मल्लको पालामा सुुरु भएको जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चार दिन चावहिल क्षेत्रमा मनाइन्छ । ऐतिहासिक, सांस्कृतिक श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा चुच्चेपाटीबाट पशुपतिसम्म चार दिन धुमधामसँग मनाइन्छ । जात्राको सुरुको दिन अमालकोट कचहरीका द्वारेले पूजा गरेपछि टोलटोलका गुठियारले पूजाआजा गर्ने परम्परा छ । शुक्रबार बिहान श्री चन्द्रविनायक र श्री भैरवको पूजा गरी जात्रा शुभारम्भ भएको थियो । चारदिने जात्राका लागि चावहिलबाट कुटुबहालसम्मको क्षेत्र सजाइएको छ । शुक्रबार, शनिबार र आइतबार चावहिल चुच्चेपाटीबाट पशुपतिसम्मका विभिन्न भागमा घुमाई सोमबार सिन्दूर जात्रा गरिने जात्रा समन्वय समितिका संयोजक नवीन गोर्खालीले जानकारी दिए । जात्राका क्रममा स्थानीयवासीले आफन्तलाई घरमा बोलाएर रमाइलो गर्ने परम्परा छ । घाउ, खटिरालगायत समस्या भएकाले चन्द्रविनायकको पूजाआराधना एवं दर्शन गरेमा ठीक हुने जनविश्वास रहिआएको छ । उपत्यकाका चार गणेशमध्येको चन्द्रविनायक विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो । दुई वर्षअघि मन्दिर भत्काएर पुनर्निर्माण सम्पन्न गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर पुनर्निर्माण सम्पन्न गरेको हो ।–रासस