हरिबोधिनी एकादशीका अवसरमा आज बूढानीलकण्ठ र नागार्जुन नगरपालिकामा सार्वजनिक बिदा 

सोमबार, कात्तिक २९, २०७८

काठमाडौँ, २९ कात्तिक । बूढानीलकण्ठ र नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिएका छन् । गत कात्तिक २६ गते बसेको बूढानीलकण्ठ नगर कार्यपालिकाको बैठकले हरिबोधिनी एकादशीको दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्घ धार्मिक तीर्थस्थलका रूपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह)का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिने गरिएको छ । स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ । 
उक्त दिन नगरपालिकाअन्तर्गत रहेका नगरपालिका, वडा कार्यालय, विद्यालय,  अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कात्र्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । 
त्यस्तै हरिबोधिनी एकादशीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले बताइन् । नगरपालिकाभित्र रहेको नेपालको चार नारायणमध्येको कान्छो नारायण मन्दिरका नाममा परिचित तथा राष्ट्रिय  सम्पदा सूचीमा सूचीकृत इचङ्गुनारायण मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगपालिकाले स्थानीय पर्वका रूपमा सो दिन सार्वजनिक बिदा दिएको हो ।  प्यागोडा शैलीमा बनेको दुईतले इचङ्गुनारायण मन्दिरमा शङ्ख, चक्र, गदा र पद्म लिएका नारायणको मूर्ति रहेको छ । सो मन्दिरमा हरिशयनी एकादशी  र हरिबोधिनी एकादशीका दिन विशेष मेला लाग्ने गर्छ ।

व्यासमा पनि सार्वजनिक बिदा 

व्यास नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको गत कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो । 

व्यासनगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बिदा दिइएको व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । 
त्यसैगरी व्यासनगरपालिका भित्रका सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य सङ्घसंस्थाहरूमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

खाँदबारी नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा

सङ्खुवासभाको खाँदबारी नगरपालिकाले दुई  दिन सार्वजनिक बिदा दिएको छ । हरिबोधिनी एकाशीका अवसरमा नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाका अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आइतबार बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिए । 
कार्यपालिका बैठकले हरिबोधिनी एकादशीका अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताए । कार्यपालिकाको निर्णयानुसार सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था बिदा रहनेछन् । चर्चित धाम मनकामना परिसरमा हरिबाधिनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । हरिबोधिनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुमलगायत जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीयवासी बताउँछन् ।–रासस 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार