सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ २६ कात्तिक : लमजुङ प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले लमजुङको राईनास नगरपालिका-४ बस्ने वर्ष ४१ का चन्द्रप्रसाद पराजुलीलाई पक्राउ गरेको हो । १ मंसिर २०५८ मा पराजुलीले आफ्नै बुबा वर्ष ५५ का खगेश्वर पराजुलीलाई बन्चरो प्रहार गरी गोवर ग्यासको सेफ्टी ट्याङ्कीमा फाली फरार रहेका थिए ।
प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा उनकै घरबाट २२ कात्तिक सोमबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
पक्राउ परेका पराजुलीलाई शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय लमजुङबाट अभियोग पत्रसहित जिल्ला अदालत लमजुङमा पेस गरी पूर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डीएसपी कार्कीले बताए ।
ज्यान मार्ने उद्योगअन्तर्गतका फरार अभियुक्त पक्राउ
यता ताप्लेजुङमा पेस्तोल ताकेर ज्यान मार्ने उद्योग गरी फरार रहेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा बस्ने ३३ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका-४ साँवाका ३३ वर्षीय कमल लिम्बू रहेका छन् । लिम्बूको साथबाट प्रहरीले म्यागेजिनसहितको पेस्तोल एक थान र गोली दुई थान तथा दापसहितको खुकुरी एक थान फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता कैलाशकुमार अधिकारीले बताए ।
अभियुक्त कमलले मेरिङ्देन गाउँपालिका खोजुङ्वाका २६ वर्षीय विनोद नाल्बो लिम्बूलाई कन्चटमा पेस्तोल ताकेर फरार रहेको अभियोग लागेको छ ।
प्रहरीले अभियुक्तलाई पक्राउ गरी ज्यान मार्ने उद्योग/हातहतियार खरखजाना शीर्षकमा जाहेरी दरखास्त लिएर मुद्दा दर्ता गरी ताप्लेजुङ जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान जारी राखिएको जनाएको छ ।