खोपले आत्मबल बलियो बन्यो

बुधबार, कात्तिक २४, २०७८

महाेत्तरी, २४ कात्तिक  : बर्दिबास-३, पाटुका कृष्ण खत्रीलाई कोरोना खोप लगाए पनि रोगबाट बच्न सकिन्छ भन्ने कुनै विश्वास थिएन । जब गाउँका मान्छे धमाधम खाेप लगाउन थाले तब उनलाई उत्साहित बनायाे । 

`कोरोनाबाट बच्न खोप लगाउने भन्दा पनि मैले चै सवैतिर खोप लिएपछि जता जान पनि मिल्ने थाहा पाएपछि खोप लगाएको हुँ,´ उनले भने ।

 खत्रीलाई कोरोना खोप लिएर राम्रो गरेको भन्ने लाग्छ । कोरोना खोप लगाएकामा संक्रमण भइहालेमा पनि मृत्युदर कम रहेकाले आत्मबल बढिरहेको  खत्री सुनाउँछन् ।

`सबैभन्दा ठूलो त आत्मबल रहेछ,´ उनले भने,  `अहिले मलाई कोरोना लागिहालेमा पनि निको भैइहाल्छ भन्ने लाग्छ । त्यसै कारण परिवारले नै कोरोना खोप लगायौँ ।´

उनका छिमेकी द्रोण खड्काले पनि खाेप लगाएका छन् । 
`भारत जान  पनि खाेप लगाएको प्रमाण देखाउनुपर्ने, अस्पतालमा उपचार गर्न जान खोप लगाएको प्रमाण देखाउनुपर्ने जस्ता नियमले मैले  कोरोना विरुद्धको खोप लिए, ´ उनले भने ।

खोप लगाएपछि खडकालाई ज्वरो, रुघाखोकी जस्ता केही लक्षण पनि देखिए तर, ज्वरो पाँच दिनपछि आफैँ ठिक भयो ।  
खत्री र खडका जस्तै महोत्तरीमा अझै कोरोना खोप के हो र यसले कसरी प्रतिरक्षा गर्छ भन्ने धेरैलाइ थाहा छैन । भारत लगायत अन्य देशमा काम गर्न जानेका लागि कोरोना खोप अनिवार्य गरेपछि बाध्यतामा नै धेरैले चासाे लिने गरेका छन् ।

युवापुस्ता, शिक्षित वर्ग बाहेकले खोपको विषयमा खासै चासो नदेखाएको बर्दिबास अस्पतालका मेसु सुनिल दाह सुनाउँछन् ।

महोत्तरीमा ८ चरणमा खाेप लगाइएकाे छ ।जसबाट २ लाख ४८ हजार २ सय ९ जना अर्थात कुल जनसंख्याको झण्डै ५२ प्रतिशतले मात्र खोप लिएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ०७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार