सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् । छठका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तराई क्षेत्रमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ संसारकै मौलिक पर्वका रुपमा रहेको बताएका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष नेपाल विविध धर्म, संस्कार र संस्कृतिले समृद्ध रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले विविधतायुक्त नेपाली संस्कार संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ् समेत गर्दै आएको बताएका छन् । उपराष्ट्रपति पुनले विश्वव्यापी कोराना भाइरस (कोभिड–१९) को महामारीको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाको नियम पूर्ण पालना गरी छठ मनाउन सबैमा आग्रह गरेका छन् ।
छठ पर्वमा दिए प्रचण्डले शुभकामना
नोपल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।। अध्यक्ष ‘प्रचण्ड’ले आज शुभकामना सन्देश दिँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेको पनि अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् । कोरोना त्रास कायमै रहेको भन्दै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन पनि सबैमा अपिल गरिएको छ ।
नदीका किनारमा विशेष साजसज्जा तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि बजारमा किनमेल गर्नेको भीड लागेको छ । छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन् । पूजाका लागि व्रतालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न व्रतालुले लागि परेका छन् । विराटनगरको सिङ्घीया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् । विराटनगर–११ पिचरामा स्थानीय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिँगारिएको छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ । यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाई पनि खाने गर्दछन् । यो पर्वका लागि सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ । यो पर्वको रौनक एवं चमक हेर्न बुधबार साँझ र बिहीबार बिहान हजारौँको भीड लाग्ने गरेको छ ।
मन्त्री साहद्वारा छठका व्रतालुलाई नगदसहित सारी वितरण प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन् । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० का ११० जना छठ व्रतालुलाई जनही नगद ५०० र एक थान सारी मन्त्री साहले प्रदान गरेका हुन् । स्थानीय रामलखन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले छठ पर्वलाई हर्षोउल्लासका साथ मनाउन प्रोत्साहन गर्न सानो सहयोग गरेको बताए । छठ पर्वको जगेर्नामा मधेशका महिलाको ठूलो योगदान रहेको चर्चा गर्दै प्रदेश सरकार सबै जातजातिको सांस्कृतिक पर्वको संरक्षणमा प्रतिबद्ध रहेको उनले बताए ।