सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ । विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाइन्छ । तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ ।
पर्सामा छठ पूजाको सबै तयारी पूरा
पर्सा जिल्लामा छठ पूजाको सबै तयारी पूरा भएको छ । जिल्लास्थित छठ घाटलाई बिजुली बत्तीले रङ्गविरङ्गी पारी सजाइएको छ । वीरगञ्ज महानगरपालिकाभित्रका ९१ वटै छठीघाटमा सजावटको काम पूरा भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । उनले छठघाट व्यवस्थापन समितिले माग गरेका आवश्यक सामग्री महानगरपालिकाले उपलब्ध गराएको र पूजालाई व्यवस्थित रुपमा सम्पन्न गर्न आफू लागि परेको बताए । वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठघाटको सबै तयारी पूरा भएको पूजा व्यवस्थापन समितिले जनाएको छ । परिसरलाई रङ्गविरङ्गी बिजुली बत्ती तथा फूलमालाले सजाइएको समितिका सचिव क्रान्ति साहले जानकारी दिए । उनले घडिअर्वा पोखरी परीलाई सजाउन यस वर्ष रु १४ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको बताए । करिब पाँच हजार व्रतालुले पूजा अराधाना गर्ने र एक लाख ७० हजारभन्दा बढी दर्शनार्थीको भीड हुने घडिअर्वा पोखरीको छठघाटमा सुरक्षाकर्मी र स्वयमसेवक परिचालन गरिने छ । पोखरी परिसरमा एम्बुलेन्स, बारुणयन्त्र र चिकित्सकको व्यवस्था गरिएको छ ।