सोसल मिडिया
Contact Us
युनिकोड
उहान । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार सङ्क्रमण फैलिएको उहानको बजारको भ्रमण गरेको छ । समूहका सदस्यले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ । सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई बजारभित्र मात्र प्रवेश दिएका थिए । डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ । भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले अड्कल गरेको छ । उहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर २० लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटबाट गुज्रिएको छ । आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न आइपुगेको थियो । डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीले निकै गम्भीरतापूर्वक नियालीरहेका छन् । चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत उहानको बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ । चिनियाँ अधिकारीले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् । चीनमा कोभिड–१९को सङ्क्रमणबाट चार हजार ६३६ जनाको मृत्यु भएको आधिकारिक विवरण सार्वजनिक गरिएको छ ।– एएफपी