सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २१ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले जानकारी दिए । तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिबारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो । एउटा छठ घाट पूजाका लागि एक हजार १०० शुल्क समितिले लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको उनले सुनाए । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो । विसं २०७६ मा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई रु छ लाख सहयोग गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वचन प्राप्त भएको समितिले जनाएको छ । यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ । कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सक्खर र घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष कात्तिक २४ गते बुधबार यस पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको समितिका सचिव यादव बताउँछन् । नयाँ अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ । दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र विशेषरूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ मनाउन थालिएको छ । विगत वर्षमा काटिएको छठ पर्वको सार्वजनिक बिदालाई सरकारले यस वर्षदेखि भने फेरि निरन्तरता दिएको छ । पर्वका अवसरमा कात्तिक २४ गते बुधबार सार्वजनिक बिदा दिइएको छ ।
मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको तयारी तीव्र
मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरु भएको छ । कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले पोखरी, नदी तथा विभिन्न जलायशहरु सजाउने काम धामधम गरिरहेका छन् । युवा क्लव तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरूलाई दुल्हीझैँ सिंगारिएको छ ।
जनकपुरका गंगासागर, धनुष सागर, अग्नीकुण्ड ,अङगराजसर, दशरत तलाउ सहितका पोखरीहरूको डिलमा छठ पूजाका लागि सजाउने कार्य भइरहेकाे छ ।
गंगा सागर छठ पुजा समितिका अध्यक्ष अशोक लाल दासले गंगा सागरको डिलमा छठको लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पोखरीको चारै डिलमा करिव चार हजारभन्दा बढी व्यक्ति एक साथ छठ पर्व मनाउने गरेको उनले बताए ।
छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामिण क्षेत्रमा अधिकाश व्रतालु साँझ घर फर्कछन् र भोलि बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
छठ पर्व मनाउँदा चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको छ । चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन सोमवार नुहाई खाई, दोस्रो दिन अर्थात मंगलवार खरना, तेस्रो दिन बुधवार अस्ताउँदै गरेको सूर्य र अन्तिम दिन बिहीबार उदाँउदै गरेको सूर्यलाई अर्घ्य दिई यो पर्व समापन गरिन्छ ।
छठ पर्वमा तीन करोडको केरा खपत
छैठ पर्वमा अन्य समग्रीभन्दा केराको कारोवार बढी हुने गर्छन् । फलफूल व्यवसायी संघ जनकपुरले छठ पर्वलाई मात्र लक्ष्ति गरि ४५ ट्रक केरा, ११ ट्रक स्याउ, चार ट्रक अनार र चार ट्रक सन्तुला ल्याएको जनाएको छ ।
धनुषा, महोत्तरी र सिरहा गरि तीन जिल्लाका उपभोक्ताले छठमा जनकपुरबाटै केरा लगायतका समाग्री खरिद गर्ने गर्छन् । फलफुल व्यवसायी संघ जनकपुरका रुदलप्रसाद साहले केरा दुई करोड ५० लाख, स्याउ ८० लाख, अनार ६० लाख र सन्तुला २० लाखको कारोबार हुने अनुमान गरिएको बताए ।
सुरक्षा व्यवस्था कडा बनाउँदै प्रहरी
चाडपर्वलाई मध्यनजर गर्दै प्रदेश २ प्रहरी कार्यालयले प्रदेश सुरक्षा व्यवस्थालाई कडा पारेको छ । विगतका वर्षहरूमा जनकपुरमा चाडपर्वकै अवसरमा अप्रिय घटना भएकोले त्यस्ता घटना हुन नदिन आफू सर्तक रहेको प्रदेश प्रहरी प्रमुख डीआईजी उमेश रंजितकारले बताए ।