कृत्रिम प्लास्टिक मालाको माग बढ्यो

शुक्रबार, कात्तिक १९, २०७८

सिमकोट । तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ । पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो । तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरिद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् ।
बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन् । यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महङ्गोमा आएको छ । आर्थिक अभावका कारण सामग्री किन्नलाई समस्या भएको गाउँबाट आएका महिलाको भनाइ छ ।

कृत्रिम प्लास्टिक मालाको माग बढ्यो
जिल्लामा कृत्रिम फूलमालाको माग बढेको छ । यो वर्ष तिहार केही ढिला भएका कारण मखमली र सयपत्री फूल पाइन छाडेपछि बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको हो ।
जिल्लामा मखमली र सयपत्री फूलको उत्पादन कम हुनुका साथै उत्पादन हुने गरे पनि यो समय अभाव भएपछि प्लास्टिक, कपडाको मालामा भारी वृद्धि भएको हो । तिहारलाई लक्ष्य गरी व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाईजहाजमार्फत प्लास्टिकका माला भित्र्याएका छन् ।
सबैजसो पसल व्यवसायीले जिल्ला बाहिरबाट ल्याएका रङ्गीचङ्गी प्लास्टिकका कृत्रिम माला बेच्नका लागि राखेका छन् । पूरै सिमकोट बजार मालाले सिङ्गारिएको छ भने व्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा माला सजाएर राखेका छन् ।
जिल्लामा मखमली र सयपत्री फूल उत्पादन कम हुने गरेपछि यहाँका व्यापारीले प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित बनाउने गरेका छन् । तिहारमा माला सबैभन्दा बढी बिक्री हुने भए पनि जिल्ला बाहिरबाट माला ल्याउने गरेको व्यापारीले बताउने गरेका छन् । प्रत्येक माला व्यापारीले न्यूनतम रु ५० देखि ३०० भन्दा माथिसम्म बिक्री गर्ने गरेका छन् । यसले गर्दा सिमकोट र खार्पुनाथ गाउँपालिकासहित बजारवासी गरेर यसको लाखौँको कारोबार हुने पुष्टि गरेको छ । अहिले सबैजसो बजारमा माला किन्नेको भीडभाड बढेको छ । जिल्लामा व्यवसायिक फूलखेती नभएको जनाइएकोे छ ।

कृत्रिम फूलको माग बढ्दै
तिहार रौनकसँगै सुदूरपश्चिम प्रदेशका धनगढीलगायतका सहरी क्षेत्रमा यतिबेला प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूलमालाको माग बढेको छ । सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् । तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुने गर्छ । फूल मालाको माग बढेसँगै धनगढीलगायतका सहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय पार्वती भट्टले बताइन् । प्राकृतिक माला कतै पाइछ भने पनि कृत्रिम मालाभन्दा निकै महङ्गो पर्ने गरेको उनी  बनाउँछिन् । 
कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको धनगढीका व्यपारी अशोक थापाले बताए । उनले भने, “कृत्रिम माला अन्य काममा समेत प्रयोग गर्न मिल्ने भएपछि यसको माग पनि ह्वात्तै बढेको छ, स्थानीय क्षेत्रमा प्राकृतिक फूल उत्पादन नहुँदा कृत्रिम फूलको माग बढेको हो ।”
स्थानीय बजारमा बिक्रीका लागि नाराणगढलगायतका क्षेत्रबाट ल्याइएका सीमित मात्राका मखमली फूलमाला प्रतिगोट रु १०० मा बिक्री गर्ने गरिएको छ । मूल्य बढी हुँदा सबैले यो मखमलीको तयारी माला खरिद गर्न सकेका छैनन् । रङ्गीबिरङ्गी कृत्रिम फूल भने प्रतिगोटाको बढीमा रु ६०÷७० सम्म पर्ने गरेको छ । सयपत्री फूलको खोजीमा गाउँतर्फ गइरहेको भेटिनुभएकी स्थानीयवासी अनिता जोशीले भनिन्, “यस वर्ष भएको अबिरल वर्षाका कारण घरमा रोपिएका सयपत्रीका बोट नष्ट हुँदा सयपत्री फूल पाउनै गाह्रो छ ।” कैलालीको त्रिनगर भन्सार नाका भएर ठूलो परिमाणमा कृत्रिम माला भित्रिने गरेका छन् । कागज, कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समयसम्म टिक्ने, झट्ट हेर्दा आकर्षक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको व्यापारीको भनाइ छ । 
तिहारको समयमा फूलमालाको अत्यधिक माग हुने गर्दछ । अधिकांशले घरआँगनमा पर्याप्त फूल नरोप्ने र रोपे पनि उत्पादन राम्रो नहुँदा कृत्रिम फूलको प्रयोग गर्नुपरेको छ । यस क्षेत्रमा पछिल्ला वर्षमा छिटपुटरूपमा केही व्यक्तिले पुष्पखेती व्यावसायिकरूपमा गर्ने गरेको भए पनि मागअनुसारका उत्पादन हुन नसकेको बताइन्छ ।–रासस 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार