सोसल मिडिया
Contact Us
युनिकोड
बर्लिन । कोरोनाभाइरस खोप माग अनुसार उपलब्ध गराउन नसकेको भन्ने विवाद बढिरहेका बेला युरोपेली संघले युरोपमा बनेको कोरोनाभाइरस खोप निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको पुष्टि गरेको छ । ईयू राष्ट्रहरूसँग गरेको सम्झौता अनुरूप काम नभएमा अन्य मुलुकमा निर्यात गर्न प्रतिबन्ध लगाउन सक्ने अधिकार युरोपेली संघसँग रहेको छ । संघले भनेको छ, ‘हाम्रा नागरिकको सुरक्षा र संरक्षण हाम्रो प्राथमिकता हो । अहिलेको चुनौतीले हामीलाई अरू विकल्प दिएन ।’ यो प्रतिबन्धले बेलायत, अमेरिका, क्यानडा र अस्ट्रेलियासहित १०० मुलुकहरू प्रभावित हुनेछन् । तर गरिब मुलुकहरूसहित केही भने प्रतिबन्धमा परेका छैनन् । ईयूले अहिलेको नियन्त्रण अस्थायी रहेको भन्दै स्थायी निर्यात प्रतिबन्ध नलगाएको बताएको छ । तर विश्व स्वास्थ्य संगठनसहित अन्यले ईयूको यो कदमको आलोचना गर्दै त्यसको असर संसारभर पर्ने बताएका छन् ।
यस्तो किन भइरहेको छ ? वितरणको विषयलाई लिएर ईयू खोप उत्पादक एस्ट्राजेनेकासँग सार्वजनिक रूपमै विवादमा होमिएको अनि खोप वितरणको सुस्त गतिका कारण संघमाथि बढ्दो दबावबीच यस्तो समाचार आएको हो । शुक्रबार युरोपेली आयोगले एस्ट्राजेनेकाले आफूहरुसँगको सम्झौतामा आधारित रहेर खोप वितरण गर्न नसकेको भन्ने भनाइलाई बल पु¥याउन उक्त कम्पनीसँगको गोप्य सम्झौता नै सार्वजनिक गरिदिएको थियो । नयाँ नियम अनुसार खोप उत्पादकहरूले ईयू भन्दा बाहिर खोप वितरण गर्नका लागि ऊसँग अनुमति लिनुपर्नेछ । २७ सदस्य राष्ट्र भएको संघले त्यस्ता आवेदनको परीक्षण गर्न पाउने छ । फाइजरले बेल्जियममा उत्पादन गरिरहेको खोप बेलायतमा निर्यात भइरहेको छ । सम्झौता अनुरूप मार्च महिनासम्ममा उपलब्ध गराउनुपर्ने खोप आपूर्ति गर्न नसकेको भन्दै ईयू फाइजरसँग पनि विवादमा छ । फाइजरले भने बेल्जियमस्थित आफ्नो उत्पादन केन्द्रमा भइरहेको विस्तारको कार्यका कारण त्यस्तो भएको जनाएको छ ।
कसका लागि प्रतिबन्ध छैन ? ईयूले ९२ थरीलाई निर्यात प्रतिबन्ध लगाएको छैन । तीमध्ये कोभ्याक्सका लागि खोप दान, गरिब मुलुकका लागि विश्वव्यापी खोप सहयोग योजना, स्वीट्जरल्यान्ड, पश्चिमी बाल्कन मुलुकहरू, नर्वे र उत्तर अफ्रिका रहेका छन् । त्यसैगरी अन्य भूमध्यसागरीय मुलुकहरू लेबनन र इजरायल पनि प्रतिबन्धमा परेका छैनन् । निर्यात प्रतिबन्धबारे ईयूकी स्वास्थ्य आयुक्त स्टेला किरियाकिअसले प्रेस सम्मेलनमा ईयूका सबै नागरिकको खोपमा पहुँच निश्चित गर्ने बताइन् । उनले त्यसका लागि सबैले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् । उनले भनिन्, ‘यो अवधारणा विश्वास, पारदर्शिता र जिम्मेवारीमा आधारित छ । प्रतिबद्धता पूरा गरिनुपर्छ । सम्झौताहरू बाध्यकारी हुन्छन् । खोप किन्न गरिएका अग्रिम सम्झौताहरूको सम्मान गरिनुपर्छ ।’ ‘ईयूबाट खोपहरू निर्यात भइरहेको छ कि छैन भन्ने थाहा पाउने प्रणाली आज हामीले विकास गरेका छौँ । ईयूसँग आफ्ना सदस्य राष्ट्रबाट हुने खोप निर्यातलाई अनुमति दिने अधिकार छ’ उनले भनिन् ।
ईयूमा खोपको राजनीति यो साताको सुरूमा ईयूले प्रतिबन्धको प्रस्ताव आउन लागेको संकेत गरेको थियो । अधिकारीहरूले त्यसलाई ‘सूचना प्रणाली’ भनेका थिए । त्यो अहिले निर्यात नियन्त्रण नीतिमा परिणत भएको छ । त्यो आंशिक रूपमा जर्मनीले ईयूका मुलुकमा बन्ने खोप अन्यत्र निर्यात गर्नेबारे ईयू सरकारले निर्णय गर्न पाउनुपर्ने भन्ने अडान राखेका कारण पनि यस्तो अवस्था आएको हो । त्यसैगरी बेल्जियममा रहेको कारखानामा कम उत्पादन भएकाले पनि माग बमोजिमको खोप उपलब्ध गराउन नसकेको भन्ने एस्ट्राजेनेकाका प्रमुखले ‘अस्पष्ट तर्क’ प्रस्तुत गरेकाले पनि यस्तो निर्णय गर्नुपरेको ईयूका अधिकारीहरूले बताएका छन् । निर्यात नियन्त्रणको नयाँ प्रणालीले ब्रिटिश खोप वितरणलाई प्रभावित पार्न सक्छ । फाइजरले अहिले बेल्जियममा बनेको खोप यूकेका लागि पठाउने गरेको छ । भविष्यमा फाइजरले खोप यूके पठाउन फाराम भर्नुपर्ने र निर्यात अनुमति पाएको या नपाएको थाहा पाउन ४८ घण्टासम्म कुर्नुपर्ने हुनसक्छ । निर्यात गर्न दिने कि नदिने भन्ने निर्णय ईयूसँग गरिएको सम्झौतालाई असर पर्ने या नपर्ने भन्नेमा आधारित हुनेछ ।–बीबीसी