मनाइयो कुकुर तिहार

बुधबार, कात्तिक १७, २०७८

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।  कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा. डा रामचन्द्र गौतमले बताए ।  घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । कात्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने बिहीबार बिहान मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बिहान ७ः१४ बजेसम्म मात्र त्रयोदशी तिथि र त्यसपछि चर्तुदशी लागेको हो । 
आज बिहान अरुणोदयकालमा चतुर्दशी नभएको र बिहीबार बिहान अरुणोदयकालमा चतुर्दशी रहेकाले यस्तो निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । चर्तुदशीको बिहान खोला, नदी, ताल, तलाउ, पोखरी गई नरक स्नान गरेर बत्तीबाली नरके बगाउने यो पर्व अरुणोदयकालअघि नै मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको उनले सुनाए। नरक स्नान गरेमा नरकको दुःख भोग्नु नपर्ने शास्त्रीय मान्यता रहेको छ ।

रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’
काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ ।  राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गरेका हुन् । 
विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले आज बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन गरेका हुन् ।  यमराजको दूतका रूपमा कागलाई मीठामीठा खानेकुरा खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइने गरिएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु भएको छ । 
आजदेखि भाइटीकासम्म नेपालीले दसैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ । यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठामीठा खान दिई खुशी पार्ने गरिएको छ ।  दुलालले १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्दै आएका छन् ।–रासस  
 

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार