बेसीसहर नगरपालिकामा थप ७० वटा सडक बत्ती जडान

मंगलबार, कात्तिक १६, २०७८

लमजुङ :  लमजुङको सदरमुकाम बेसीसहर नगरपालिका वडा नम्बर–२ को विभिन्न क्षेत्रमा थप ७० वटा सडक बत्ती जडान गरिएको छ । नगरपालिकाले चालु वर्षको ३ लाख ५० हजार बजेटबाट वडा नम्बर २ को बोहोराबेसी, चालिसे, भकुण्डे, आरुबोटे, कटहरे, थुम्कालगायतको क्षेत्रमा सडक बत्ती जडान गरेको हो । 

बेसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले बेसीसहर–२ को भकुण्डेस्थित राममन्दिर चोकमा सडक बत्तीको ‘स्विच अन’ गरी उज्यालो अभियानको शुभारम्भ गरेका हुन् ।

नगरप्रमुख अर्यालले नगरपालिका नगरवासीको साथमा रहेको भन्दै नागरिकको माग र आवश्यकताको आधारमा नगरपालिका अघि बढिरहेको बताए ।  सडक बत्तीले नगरको सुरक्षालाई समेत सहयोग पुर्‍याउने दाबी गरे । सडक बत्ती जडानले स्थानीयबासीलाई सुरक्षित साथ राति हिँड्न सक्ने, अँध्यारो बजारलाई उज्यालो बनाउने र विभिन्न जोखिम न्यूनीकरण हुने बताए ।

बेसीसहर–२ मा यसअघि गत आर्थिक वर्षमा बेसीसहर नगरपालिका र स्थानीय गाउँ जागृति आमा समूहको सहकार्यमा बोहोराबेसी क्षेत्रमा २० वटा सडकबत्ती जडान गरिएको थियो । योसँगै वडा नम्बर २ मा सडकबत्तीको संख्या ९० वटा पुगेको छ । 

बेसीसहर बजारमा विगतमा जडान गरिएका सौर्यबत्ती अपर्याप्त र जडान भएको केही समयमै बिग्रिने समस्या भएकोले उज्यालो नगरपालिका अभियान अन्तर्गत नगरपालिकाले सडकबत्ती जडान गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार