सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले भनेको छ–परीक्षणका क्रममा रहेको उसको कोभिड–१९ विरुद्धको खोपले ८९ प्रतिशत सुरक्षा दिने देखाएको छ । संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा पाइएको उक्त कम्पनीले जनाएको छ । यो परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका थिए । बेलायतले अहिलेसम्म तीनवटा खोपलाई आपत्कालीन प्रयोगको स्वीकृति दिएको छ । आपतकालीन प्रयोगको अनुमति पाएका ती खोपहरूमा अक्सफोर्ड–एस्ट्राजेनिका, फाइजर–बायोएनटेक र मोडेर्नाका छन् । महत्वपूर्ण समयमा परीक्षण बेलायतबाट सुरु भएको निकै उच्च सङ्क्रमणदर रहेको भाइरसको नयाँ प्रकार फैलिरहँदा यस्तो परीक्षण भएको हो । यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ । अझै केही बढ्ता सङ्क्रामक भिन्न प्रकारको भाइरस दक्षिण अफ्रिकामा पनि पाइएको छ । अक्सफोर्ड–एस्ट्राजेनिकाको खोपलाई इयूले अझै मान्यता भने दिइसकेको छैन । थोरैमा गरिएको परीक्षणमा एचआइभी नभएका मानिसहरूमा त्यो ६० प्रतिसत प्रभावकारी देखिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यो ‘सुखद् समाचार’ को स्वागत गरेका छन् । उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामकले जाँच्ने बताए । बेलायतले आफ्नै देशको स्टकटन–अन–टिज शहरमा उत्पादन गरिने यो खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ । नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स बेलायतमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो । ‘सानदार नतिजा’ तेस्रो चरणको परीक्षणका बेला सहभागिमा यो कोभिड–१९ बाट जोगाउनका लागि ८९.३ प्रतिशत प्रभावकारी देखिएको थियो । १८¬–८४ उमेर समूहका सहभागि १५ हजार जनामध्ये २७ प्रतिसत ६५ वर्षभन्दा बढी उमेर समूहका रहेको नोभाभ्याक्सले जनाएको छ । बेलायत सरकारको खोप कार्यदलका अध्यक्ष क्लाइभ डिक्सले उक्त नतिजालाई ‘सानदार’ बताएका छन् । ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककले यदि खोप स्विकृत भएमा राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस त्यसलाई वितरण गर्न ‘तयारी अवस्थामा रहेको’ बताएका छन् । यसअघि आएका फाइजर र मोडेर्नाको खोपभन्दा फरक नोभाभ्याक्स फ्रिजको नियमित तापक्रममा भण्डारण गर्न सकिनेछ ।–बीबीसी