सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षको तुलनामा झन् खस्किएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ । उक्त अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचकाङ्क (सीपीआई) अनुसार ३३ अङ्क प्राप्त गर्दै नेपाल ११७औँ स्थानमा छ । गत वर्ष नेपाल ११३ औँ स्थानमा थियो । दक्षिण एशियाबाट भुटान सबैभन्दा माथि २४ औँ स्थानमा र अफगानिस्तान १६५ स्थानमा छन् । कुल १८० देशमध्ये न्यूजील्यान्ड र डेनमार्क ८८ अङ्कसहित शीर्ष स्थानमा छन् ।दक्षिण एशियाली मुलुक भुटान २४ औँ, माल्दिभ्स ७५ औँ, भारत ८६ औँ स्थान, श्रीलङ्का ९४ औँ स्थान, नेपाल ११७ औँ स्थान, पाकिस्तान १२४ औँ स्थान, बंगलादेश १४६ औँ स्थान तथा अफगानिस्तान १६५ औँ स्थानमा छ । गत नोभेम्बरमा टीआईको बर्लिनस्थित मुख्यालयले एशियाका १७ देशहरूमा गरिएको एउटा अध्ययनमा आधारित भ्रष्टाचारसम्बन्धी प्रतिवेदनमा ‘नेपालमा गत वर्ष भ्रष्टाचार झन बढेको’ जनाएको थियो । तर नेपाल सरकारले ‘ग्लोबल करप्शन ब्यारोमिटर एशिया २०२०’ को निष्कर्षको खण्डन गरेको थियो । के भन्छ टीआई ? ट्रान्सपरेन्सी इन्टरनेशनलले जारी गरेको विज्ञप्तिमा आफूहरूले तयार पारेको सूचीमा अग्रस्थानमा रहेका देशले स्वास्थ्य सेवामा राम्रोसँग लगानी गरेका उल्लेख छ । उनीहरूले प्रजातान्त्रिक मान्यता र कानुनी शासनको उल्लंघन गर्ने सम्भावना कम रहने उसले जनाएको छ । ‘कोभिड–१९ स्वास्थ्य वा आर्थिक सङ्क मात्रै होइन, यो भ्रस्टाचारको सङ्कट हो र यो त्यस्तो सङ्कट हो जुन हामी अहिले व्यवस्थापन गर्न सकिरहेका छैनौँ’ विज्ञप्तिमा ट्रान्सपरेन्सी इन्टरनेशनलकी अध्यक्ष डेलिया फेरिरा रुवियोलाई उदृत गरिएको छ । जनस्वास्थ्यसँग सम्बन्धित आपत्कालीन अवस्थासँग जोडिँदा भ्रष्टचारले सर्वसाधारणहरूको जीवन र जीविकामा गम्भीर खतरा पार्ने प्रतिवेदनमा उल्लेख छ ।–एजेन्सी