खोटाङमा जुवाको खालबाट पाँच जना पक्राउ 

उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ
सोमबार, कात्तिक ८, २०७८

जिल्ला प्रहरी कार्यालय खोटाङले जुवाको खालबाट पाँच जनालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हरि जोशीको घरमा डेरा लिएर बसेका साकेला गाउँपालिका–५ मात्तिमका हिराधन राईको कोठामा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईको कोठामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा राईसहित ओखलढुंगा सिद्धिचरण नगरपालिका घर भई हाल साकेला गाउँपालिका–२ रतन्छा बस्ने सौरव गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका टिकाराम राई र उदयपुरको कटारी नगरपालिका–११ का खोमबहादुर क्राप्छाकी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।

जुवाको खालबाट नगद ७१ हजार २० रुपैयाँ र ५२ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक शाहले बताए ।

उदयपुरमा ५३ किलो गाँजासहित एक जना पक्राउ

 जिल्ला प्रहरी कार्यालय उदयपुरले अवैध लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सोमबार बिहान साढे तीन बजे ५३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट गाँजा बोकेर हिँडिरहेका एक युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुङछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् ।

उनलाई तीन बोरामा ५३ किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार