सोसल मिडिया
Contact Us
युनिकोड
पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो । समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान हुन नसकेको कार्यालयले जनाएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि तराईका सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । अर्को सवारी साधानलाई उछिन्ने क्रममा बस सडकबाट करिब २० मिटर तल सडकमै खसेको थियो ।
दुर्घटनामा घाइते भएका १६ जनाको हेलिकोप्टरमार्फत उद्धार
बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।
नेपाली सेनाको एम- १७ हेलिकोप्टरले १६ जना बिरामी र तिनका तीन जना कुरुवासमेतलाई फिदिमबाट धरान पुर्याएको हो । बिरामीहरूको रेफरका लागि साँझसम्म पर्याप्त एम्बुलेन्स नभएको तथा घाइतेहरूको स्वास्थ्य अवस्था झनै जटिल हुने भएपछि नेपाली सेनाको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरेको हो ।
आज बिहान ११ बजे भएको दुर्घटनामा घाइते भएका २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । अहिले फिदिमस्थित समर्पित अस्पतालमा नौ जना र पाथीभरा अस्पतालमा आठ जना घाइतेहरूको उपचार भइरहेको छ ।
उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा लेटाङ नगरपालिका- ६ मोरङका सात वर्षीय प्रज्वल मगर, इलामकी ३४ वर्षीया प्रमिला देवान र उनकै सात महिने छोरा निश्चल देवानको मृत्यु भएको हो । एक जना मृतक महिलाको पहिचान हुन सकेको छैन ।
फिदिम नगरपालिका- ४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका- ४ सरखण्डेमा आज बिहान ११ बजे दुर्घटना भएको थियो । अर्को सवारीलाई उछिन्ने क्रममा सडक छेउमा रहेको माटोबाट अगाडि बढ्ने क्रममा माटो भत्किई बस सडकबाट करिब २० मिटर तल झरेको थियो ।
दुर्घटनाका मृतक तथा घाइते कुम्मायक गाउँपालिकाको यासोक बजारबाट ट्याक्सीमा निवु खोलासम्म आएका थिए । बाढीका कारण निवु खोलामा रहेको पुल भत्केकाले पैदल यात्रा गरी पुल तरेर उनीहरू बसमा चढेका थिए । तर, बस केही किलोमिटर पार नगर्दै दुर्घटना भएको थियो ।
यसअघि तीन दिनसम्म भएको वर्षाका कारण मेची राजमार्गसहितका सडकहरु अवरुद्ध भएका थिए । दसैँ मनाउन गाउँ तथा आफन्तकहाँ आएकाहरू सडक सहज भएपछि आज उक्त बसमार्फत गन्तव्यतर्फ जाँदै थिए ।