बिना दर्ता औषधि पसलको कुशेमा हालिमुहाली

सोमबार, कात्तिक ८, २०७८

जजारकोट :   कुशे गाउँपालिकामा अवैध रूपमा औषधि पसलहरू सञ्चालन भइरहेका छन् ।  पहुँचमा स्वास्थ्य संस्था तथा पर्याप्त औषधि नहुँदा अवैध रूपमा औषधि पसलहरू सञ्चालनमा रहेका हुन् । 

चिकित्सकले बिरामी जाँच गरेपछि दिइने पूर्जीका आधारमा अनुमति प्राप्त व्यक्ति औषधि बिक्री गर्न पाइने कानुनी व्यवस्था छ । तर, कुशे गाउँपालिकामा बिना दर्ताका १३ वटा औषधि पसलबाट चिकित्सकको पूर्जी बिना बिरामीलाई औषधि बिक्री गरिरहेका कुशे गाउँपालिकाका स्वास्थ्यकर्मी दिनेश बस्नेतले बताए । 

जथाभावी औषधि बिक्री गर्दा मावन स्वास्थ्यमासमेत असर गरेको उनको भनाइ छ । नियमनकारी निकायको बेवास्ताका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गरी यहाँका अवैध औषधि पसलबाट औषधि बिक्री भइरहेका छन् । 

सरकारी स्वास्थ्य संस्थाको संख्याभन्दा निजी औषधि पसलको संख्या बढी छ ।  स्वास्थ्य चौकीको संख्या पाँच  र आधारभूत स्वास्थ्य सेवा केन्द्रको  संख्या चार मात्र छ । भएका स्वास्थ्य संस्थामा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिन्छ । करारका अधिकांश स्वास्थ्यकर्मीले सरकारी स्वास्थ्य संस्था धानेको देखिन्छ । 

साथै कुशे गाउँपालिका भित्रका कुनै पनि स्वास्थ्य संस्थामा सञ्चार सेवा छैन । स्वास्थ्य सेवा कार्यालय, पालिकामा खबर गर्नकै लागि हिँडेरै पुग्नु अथवा इन्टरनेटको सहारा लिनु पर्ने अवस्था छ । २४ हजार १७१ जना जनसंख्या रहेको कुशेमा प्राथमिक स्वास्थ्य केन्द्रको संख्या शून्य छ । 

सबै पालिकामा संघीय सरकारले १० ÷ १५ शैय्याको अस्पताल बनाउनका लागि पहल भए पनि कुशेमा भने सो हुने सकेको छैन । सबै भन्दा बढी हवाइ सेवा लिने बिरामीहरूमध्ये कुशेकै बढी रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

जुम्लाको सिमाना संग जोडिएको यो पालिका सडक सञ्जालसँग हिउँद मात्र सञ्चालन हुने गर्दछ । वर्षायाममा यातायात सेवा ठप्प हुने गर्दछ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार