बेमौसमी वर्षाको चोटमा २६ जिल्ला

आइतबार, कात्तिक ७, २०७८

काठमाडौँ । मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ । 
सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले मानवीय क्षति बेहोरेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ । यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट सुरु भएको थियो । सो प्रणाली कात्तिक  ३ सम्म रह्यो । त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ । 
पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्काे दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो । प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ । ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुप¥यो ।
गृह मन्त्रालयबाट आज प्राप्त पछिल्लो तथ्याङ्कमा ती जिल्लामा कूल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए । यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये पाँचको शव फेला परेको हो । अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् ।
कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन् । 
मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन । सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ । धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ ।

प्रदेश नं १ मा सबैभन्दा बढी क्षति 

प्रदेश नं १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो । प्रदश नं १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् । 
यस प्रदेशको पाँचथरमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको छ । त्यसपछि  इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन् । बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन् ।

प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनीमा कम क्षति

प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा) भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ । प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ । उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन् ।

वाग्मती प्रदेशको सिन्धुली प्रभावित भएको जनाइएको छ । सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व (नवलपुर) मा दुईजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ । प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जनाइएको छ ।

कर्णालीका पाँच जिल्ला प्रभावित
  
कर्णाली प्रदेशका पाँच जिल्ला प्रभावित भएको छ । ती जिल्लामा आठजनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ ।  जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार घाइते  छन् ।
 
यस्तो छ सुदूरपश्चिमको क्षति 

सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ३७ को मृत्यु भएको छ भने २२ बेपत्ता छन् । सत्र जना घाइते छन् । सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ । बझाङमा अझै १९ जना हराइरहेका छन् । डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन् ।

सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता 

बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको  अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी  आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा १२, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र  कैलालीमा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता रहेका छन् । बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा एक÷एक बेपत्ता रहेका हुन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरा र बैतडीमा दुई÷दुई र बझाङ र बाजुरामा एक÷एक जना घाइते भएका हुन् । 
विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशुचौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ । बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।  
वर्षाका कारण डडेल्धुरामा केआइसिंह राजमार्ग, दार्चुलामा महाकाली राजमार्ग, बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बन्द भएको टेलिफोन र इन्टरनेट सेवा भने सुचारु भइसकेको छ । 
बाढीपहिरोमा परेकाको उद्धारमा नेपाली सेना

नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढीपहिरो गई जनजीवन प्रभावित इलाकामा जनशक्ति तथा स्रोेत साधन प्रयोग गरी खोज तथा उद्धार कार्य सञ्चालन गरेको छ ।
सो कार्यबमोजिम कात्तिक २ गते कालिकोट राम्नी ईलाकामा जोखिममा रहेका करिब ६० घरधुरीका २५० देखि ३०० जना स्थानीयलाई राम माध्यमिक विद्यालय र स्वास्थ्य चौकीको भवनमा सार्नुका साथै पहिरोमा पुरिएका खाद्यान्न, लत्ता कपडा र अन्य चलअचल सामान निकाल्ने कार्य गरिएको थियो ।
कालिकोटकै खाडाचक्र नगरपालिका–६ पिलि–बिर्तामोड खण्डमा पहिरोसँगै ठूलो ढुङ्गा झरेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपश्चात उक्त ढुङ्गालाई अन्य सुरक्षा निकायको सहकार्यमा बिष्फोटनमार्फत हटाइ राजमार्ग सुचारु गरेको सेनाले जनाएको छ । अविरल वर्षाको कारण डोटी सायल गाउँपालिका–४ भल्मामा ३० वर्षीय जङ्गबहादुर विष्टको घर पहिरामा परी निजको मृत्यु भएकामा सेनाले सो शव निकाल्ने कार्य गरेको थियो ।
सेनाद्वारा रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका–५ स्थित गोसाईकुण्ड दर्शन गर्न जाने क्रममा ललितपुरका वर्ष २७ का राजाराम सुनार अत्याधिक चिसोको कारण लेक लागि धिम्सा इलाकामा अचेत अवस्थामा रहेको खबर प्राप्त भए पश्चात सेनाले उक्त बिरामीलाई थप उपचारको लागि रसुवा अस्पताल, धुञ्चेमा पु¥याएको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २२:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार