इन्जिनियरलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्रमार्फत दबाब

आइतबार, कात्तिक ७, २०७८

रसुवा । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै रसुवामा कार्यरत प्राविधिकहरूले ज्ञापनपत्र मार्फत दबाब दिएका छन् । गत बिहीबार कार्यालय परिसरमै गई कुशवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न  माग गर्दै जिल्लाका प्राविधिकहरूले जिल्ला प्रशासन कार्यालय रसुवामार्फत प्रदेश सरकारलाई दबाब दिएका हुन् । आइतबार जलश्रोत तथा सिँचाइ विकास सवडिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेको नेतृत्वमा गएको टिमले प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई ज्ञापनपत्र बुझाएका छन् । कुशवाहलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न तथा रसुवामा कार्यरत प्राविधिकको सुरक्षा गर्न माग राख्दै ज्ञापनपत्र बुझाइएको जलस्रोत जथा सिँचाइ विकास सब डिभिजन कार्यालय रसुवाका प्रमुख इन्जिनियर कृष्णबहादुर पाण्डेले बताए । गत ४ कात्तिकमा इन्जिनियर कुशवाहलाई लाठीसहित प्रवेश गरेका जनमत पार्टीका कार्यकर्ताले उनको लुगा च्यातेर नगर परिक्रमा गराएका थिए । ‘देशमा कानुनी राज्य हुँदाहुँदै कानुन तथा वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा उदण्डता र अराजकताको परकाष्ठा नाघ्दै कानुन हातमा लिएर उच्छृंखल गतिविधि गरी एक राष्ट्रसेवक कर्मचारीमाथि गरिएको दुर्व्यवहार घटना देशको सुरक्षा र प्रशासनमाथि प्रश्न चिह्न खडा गर्ने भएकोले उक्त घटना कुनै पनि हालतमा क्षम्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार