लमजुङमा सुकुम्बासीको काम शून्य, सुकुम्बासीको नाममा १३ लाख बढी खर्च

आइतबार, कात्तिक ७, २०७८

सुकुम्बासीको अवस्था अध्ययन गरी लालपुर्जा प्रदान गर्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ बमोजिम तत्कालीन सरकारले सुकुम्बासी आयोग गठन गरेको थियो । तर सरकार फेरिएसँगै १९ साउन ०७८ मा आयोग खारेज भएको छ । आयोग नै खारेज भएसँगै एकजनाले पनि लालपुर्जा नपाई सुकुम्बासीका नाममा आएको रकम बिनाप्रतिफल खर्च भएको छ । लमजुङमा सुकुम्बासीको नाममा आएको रकम भूमिसम्बन्धी समस्या समाधान आयोगका संयोजक र सदस्यहरूले नियुक्ति लिएको समयदेखि असार मसान्तसम्म १३ लाख ६४ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङले जनाएको छ । आयोगका लागि जिल्लामा कार्यालय स्थापना, आयोगका संयोजक, विज्ञ सदस्य र सदस्यको तलब, कर्मचारीको प्रोत्साहन भत्ता, फर्निचर, प्राविधिकलाई तालिमलगायतका शीर्षकमा रकम विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्दा धेरै तलब, भत्तालगायतका शीर्षकमा रकम खर्च भएको पाइएको छ ।  सरकारले आयोगको जिल्ला संयोजकमा मोहनहरि पौडेल, विज्ञ सदस्यमा सुवास पौडेल र लोका अधिकारीलाई नियुक्त गरेको थियो । गत माघमा नियुक्त भएका समितिका संयोजकका लागि तलबमा मात्रै दुई लाख ४८ हजार खर्च भएको छ । त्यस्तै, विज्ञ सदस्यद्वयका लागि कुल चार लाख २३ हजार खर्च भएको छ । सुकुम्बासी आयोगकै रकमबाट कर्मचारीहरूको प्रोत्साहन भत्तामा एक लाख ७३ हजार, पदाधिकारीको बैठक भत्तामा एक लाख २६ हजार रुपैयाँ, यातायात पेट्रोलका लागि ५० हजार रुपैयाँ खर्च भएकोे छ । भूमिसम्बन्धी समस्या आयोगका लागि गत आर्थिक वर्षमा चालूतर्फ १६ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ एक लाख ८० हजार गरी १८ लाख ३० हजार रुपैयाँ बजेट आएको थियो । सोमध्ये चालूतर्फ ११ लाख ९१ हजार रुपैयाँ र पुँजीगततर्फ एक लाख ७३ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङले जनाएको छ । गत वर्षमा आएको कुल बजेटमध्ये करिब चार लाख ६६ हजार रुपैयाँ भने फ्रिज भएको पाइएको छ । लमजुङमा भूमिसम्बन्धी समस्या समाधानका लागि काम सुरु भएसँगै एक हजार दुई सय ४५ वटा निवेदन परेका छन् । आयोगले अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी तीन प्रकृतिको लगत संकलन गरेको थियो । जसमध्ये सात सय ९६ अव्यवस्थित बसोबासी, दुई सय ५३ वटा भूमिहीन दलित र एक सय ९६ भूमिहीन सुकुम्बासी सम्बन्धी लगत संकलन भएको आयोगसम्बन्धी जिल्ला कार्यालय लमजुङले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार