बाढीपहिरा पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँ’ 

प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल ‘
शुक्रबार, कात्तिक ५, २०७८

सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गरेका छन् । बिहीबार साँझ भएको छलफलका क्रममा बाढी, पहिरो डुबान प्रभावित जिल्ला तथा गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण लगायतको कामका लागि राहतका प्याकेज ल्याउन सुझाव दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिए ।  प्रधानमन्त्रीसमक्ष कृषिलगायतका क्षेत्रमा समेत पुगेको क्षतिबाट प्रभावित जनतालाई सम्बोधन गर्न ‘बास्केट फन्ड’ स्थापना गरी तीन तहकै सरकारले सँगसँगै काम गर्नुपर्ने प्रस्ताव पनि प्रदेशका मन्त्रीले राखेका थिए ।  “प्रदेशका विभिन्न जिल्लामा उत्पन्न विपद्ले निम्त्याएको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका छौँ”, प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री जोशीले भनिन्, “विपद्लाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने सुझाव पनि दिएका छौँ ।” 
सो अवसरमा प्रधानमन्त्री देउवाले आफू काठमाडौँ फर्किएपछि विपद्ले उत्पन्न गराएको समस्या समाधानका बारेमा योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएको मन्त्री जोशीले बताइन् । 
प्रधानमन्त्रीसँग आजै प्रदेश सरकारका प्रमुखसचिव मधुसुदन बुर्लाकोटीले भेट गरी वर्षापछि पहिराले अवरुद्ध बनेको सडक सञ्चालन गर्न सुझाव दिएका थिए ।   प्रमुख सचिव बुर्लाकोटीले भने, “आफूले प्रधानमन्त्रीसँग प्रदेशका पहाडी जिल्लामा हवाइसेवा उपलब्ध गराउन धनगढी विमानस्थलमा नेपाल वायुसेवा निगमको एक छट्टै जहाजको व्यवस्था गर्नुपर्ने पनि सुझाव दिएको छु ।” 
 प्रधानमन्त्रीले वर्षासँगै उत्पन्न बाढी, पहिरो, डुबानबाट डोटी, बझाङ, बैतडी, डडेलधुरा कञ्चपुर र कैलाली जिल्लामा भएको क्षतिको स्थलगत निरीक्षण अवलोकन गरेर आज काठमाडौँ फर्किएका छन् । 
प्रधानमन्त्री नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन ती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउँद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी थिए ।  यही असोज ३१ गतेदेखि तीन दिनसम्म भएको अविरल वर्षाका कारण भएको बाढी, पहिरो डुबानको समस्याका कारण प्रदेशमा आज बिहानसम्म ३३ जनाको मृत्यु भएको छ । बाइस जना बेपत्ता छन् । १७ घरमा पूर्ण क्षति पुगेको छ । तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानले हजारौँ परिवार विस्थापित भएका छन् भने ठूलो क्षेत्रफलका जग्गामा गरिएको धानबाली नष्ट भएको छ ।

‘बाढीपहिरा पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँ’

प्रधानमन्त्री देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताएका छन् । 
बेमौसमी वर्षासँगै आएको बाढीपहिरा, डुबान र नदी कटानले पु¥याएको मानवीय तथा भौतिक क्षतिको बिहीबार सुदूरपश्चिम प्रदेशमा स्थलगत निरीक्षण अवलोकन गरेका उनले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने र क्षति न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका उपाय  खोजिने बताए ।  
“बेमौसमी वर्षासँगै उत्पन्न विपत्तिले देशभर नै क्षति पु¥याएको छ”, उनले भने, “ यो वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो क्षति भएको छ, धानबालीमा समेत क्षति पुगेको छ ।” प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीपहिरा, डुबानको समस्याबाट पीडित नागरिकलाई राहत दिने निर्णय गरिसकेको उल्लेख गर्दै यस विषयमा काठमाडौँ फर्केपछि पुनः छलफल गरिने जानकारी दिए ।  
 एक प्रश्नको जवाफमा उहाँले कोरोनाविरुद्धको खोप लगाउनमा नेपालले पाएको सफलतालाई विश्व स्वास्थ्य सङ्गठनले धन्यवाद दिएको उल्लेख गर्दै नेपालमा कोरोना रोकथाम हुँदै जाँदा बेलायतलगायत अन्य देशले ‘भिसा’ खुला गरेको बताए । अर्को एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको कानूनभन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको दाबी गरे ।  पार्टीको महाधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले भने, “पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ, निर्वाचन समतिले निष्पक्ष भएर चुनाव गराउने भएकाले यो काममा पार्टी सभापतिको भूमिका हुँदैन ।” उनी वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लामा भएको क्षतिको बिहीबार स्थलगत निरीक्षण अवलोकन गरेर आज काठमाडौँ फर्किएका छन् । 
यही असोज ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरा र डुबानका कारण सुदूरपश्चिम प्रदेशमा आजसम्म ३१ को मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता भएका छन् । १७ घरमा पूर्ण क्षति पुगेको छ । तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानले हजारौँ परिवार विस्थापित भएका छन् भने ठूलो क्षेत्रफलको जग्गामा रोपिएको बर्खे धानबाली नष्ट भएको छ ।–रासस 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार