कोरोना खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्दै स्वास्थ्य मन्त्रालय 

शनिबार, माघ १०, २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । 
मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको जानकारी दिए । भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि संघ, प्रदेश र स्थानीय तहमा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेवसाइटमा लगईन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा दुई दिनभित्र पठाउन बिहीबार निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य प्रशासक डा. शर्माका अनुसार स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शहवाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाईकर्मीको सूचीसम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनुपर्ने हुन्छ । मन्त्रालयका उपसचिव मुक्ति खनालले अहिलेसम्म ५० हजारभन्दा बढी खोप लगाउने व्यक्ति सूचीकृत गरिएको जानकारी दिए । भारत सरकारले कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड विहीबार १० लाख मात्रा सरकारलाई उपलब्ध गराएको थियो । अहिले उपलब्ध खोप स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा भण्डारण गरिएको छ । एक व्यक्तिलाई दुई मात्रा दिइने उक्त खोप पाँच लाख जनालाई दिइने सरकारको तयारी रहेको छ । 

भारतले दिएको खोपबारे जान्ने पर्ने कुरा 
संसारकै सबैभन्दा ठूलो खोप अभियान सुरु गरेको एक हप्ताभन्दा कम समयभित्रै भारतले लाखौँ मात्रा कोभिडका खोपहरू छिमेकी मुलुकहरूलाई निःशुल्क उपलब्ध गराएको छ । नेपालसहित अन्य देशहरूलाई दिइएको सहयोगलाई धेरैले खोप कूटनीतिका रूपमा अथ्र्याएका छन् ।
भारतको औषधि नियामक निकायले अक्सफोर्ड–आस्ट्राजेनेकाले विकसित गरेको खोपको स्थानीय नाम कोभिशील्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिनलाई अनुमति दिएको छ । आधा दर्जन ठूला औषधि निर्माण कम्पनी रहेको भारतले संसारका ६० प्रतिशत खोप उत्पादन गर्छ ।
अक्सफोर्ड–आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो । यसले वार्षिक पाँच करोड मात्रा खोप उत्पादन गर्ने दाबी गर्छ । कोभिशील्ड नाम दिइएको खोप चिम्पान्जीबाट निकालिएको सामान्य रुघाखोकीको कमजोर पारिएको भाइरसमा आधारित छ । सो भाइरसलाई कोरोनाभाइरसजस्तै बनाइएको छ तर त्यसले संक्रमण गर्दैन । खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ जसले गर्दा एन्टीबडी बन्छन् । ती कोरोनाभाइरस संक्रमणविरुद्ध लड्छन् । एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ । यसलाई २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा सुरक्षित राख्न सकिन्छ । त्यो तापक्रम भनेको सामान्य फ्रिजको तापक्रम हो र यसलाई अन्य खोप सरह दिन सकिन्छ । यसकारण यो अन्य केही खोपभन्दा ओसारपसार र वितरणका लागि सहज छ । फाइजर–बायोएनटेकले बनाएको खोपलाई माइनस ७० डिग्री सेल्सीअस तापक्रममा राख्नुपर्छ । धेरै यताउता गर्न मिल्दैन जसले यो नेपाल र भारतजस्ता देशका लागि चुनौतीपूर्ण छ ।

कोभिशील्ड कति प्रभावकारी छ?
अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । तर आधा मात्रा वा पूरा मात्राको अवधारण स्पष्ट पार्ने तथ्यांक उपलब्ध नभएको बताइएको छ । तर अप्रकाशित तथ्यांक अनुसार दुई मात्राको बीचमा जति लामो समय भयो खोप त्यति प्रभावकारी हुने देखिएको छ । त्यस्तो तरिकाले दिइएको अवस्थामा पहिलो मात्रापछि मात्रै पनि ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ ।
सिरम इन्स्टिच्यूटले ब्राजिल र बेलायतमा गरिएको परीक्षणको तथ्यांक अगाडि सारेर कोभिशिल्ड अत्यधिक प्रभावकारी रहेको दावी गरेको छ । तर भारतको बिरामी अधिकारकर्मीको समूह अल इन्डिया ड्रग एक्सन नेटवर्कले यसको अनुमति प्रक्रिया हतारमा गरिएको र भारतमा यसको आवश्यक परीक्षण नभएको बताउँदै आएको छ । कम्पनीले खोपको भारतीय परीक्षण फेब्रुअरीमा गर्ने बताएको छ । तर केही विज्ञले अन्य देशमा गरिएको परीक्षण अनुसार काम नगर्ने सम्भावना कम भएको बताउँछन् ।

कुन–कुन देशमा भारतीय खोप ?
भारतले नेपाल, भुटान, मालदिभ्स, बंगलादेश, म्यानमार र सेसल्समा यो खोप पठाइसकेको छ । श्रीलंका, अफगानिस्तान र मरिशसमा पनि त्यहाँको औषधि नियामकले अनुमति दिएपछि पठाइने बताइएको छ । भारतले ब्राजिलमा व्यावसायिक निर्यात गर्न अनुमति दिएको छ । भारतीय विदेश मन्त्रालयले देशभित्रको आवश्यकता र अन्तर्राष्ट्रिय माग हेरेर संसारभरि खोप पठाउने बताएको छ ।

कोभ्याक्सिन के हो ?
कोभ्याक्सिन भारतमै विकसित खोप हो । भारत बायोटेक २४ वर्ष पुरानो खोप निर्माता हो जसले १६ प्रकारका खोप निर्माण गर्छ र १२३ देशमा निर्यात गर्छ ।यो कोरोनाभाइरसमा आधारित खोप हो जुन निष्क्रिय भएकोले शरीरमा हाल्न मिल्छ । कम्पनीले भारतको नेशनल इन्स्टिच्यूट अफ भाइरोलोजीले एक्लाएको कोरोनाभाइरस प्रयोग गर्छ । शरीरमा हालेपछि रोग प्रतिरोधी क्षमताले कोरोनाभाइरस चिनेर त्यसविरुद्ध सक्रिय हुन्छ । यसको दुई मात्रा चार साताको फरकमा दिइन्छ । यो पनि २ देखि ८ डिग्री सेल्सीअस तापक्रममा राख्न सकिन्छ । कम्पनीले आफूसँग दुई करोड मात्रा कोभ्याक्सिन भएको बताएको छ । भारतले सात लाख मानिसलाई खोफ दिइसकेको छ

किन कोभ्याक्सिनमा शंका ?
कोभ्याक्सिनलाई परीक्षणका चरणहरू नै पूरा नभई अनुमति दिइएपछि यो विवादमा छ । विज्ञहरूले परीक्षणमै रहँदा कसरी लाखौँ व्यक्तिलाई लगाउन आपत्कालीन अनुमति दिन सकिन्छ भनेर प्रश्न उठाएका छन् । तर दुवै उत्पादक र नियामकले यसलाई सुरक्षित भएको बताएका छन् ।

भारतमा अरू कुन खोप बन्दैछ ?
भारतमा विभिन्न चरणको परीक्षणमा रहेका सम्भावित खोपमा अहमदाबादस्थित जाइडस–क्याडीलाले विकास गरिरहेको जाइकोभ–डी हो । हैदराबादको निजी उत्पादक बायोलोजिकल ईले अमेरिकी डाइनाभ्याक्स र बेलर कलेज अफ मेडिसिनसँग मिलेर पनि खोप विकास गरिरहेको छ । पुणेमा रहेको जेनोभाले अमेरिकी एचडीटीसँग मिलेर निर्माण गरिरहेको एचजीसीओ–१९ नामक खोप भारतमै बनिरहेको छ । भारत बायोटेकले विकास गरिरहेको नाकबाट दिइने खोप रुसको स्पुत्निक भी खोप पनि बनिरहेको छ । सिरमले अमेरिकी कम्पनी नोभाभ्याक्ससँग मिलेर अर्को खोप बनाइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार