नवदुर्गाको प्रसाद लगाउने क्रम अन्त्य

हनुमानढोका दरबारमा अखिल बलिपूर्ति
बुधबार, कात्तिक ३, २०७८

काठमाडौँ । हनुमानढोका दरबारको दसैँ घरमा ५४ बोका र ५४ राँगाको बलि दिई अखिल बलिपूर्ति सम्पन्न गरिएको छ ।  आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति गरेसँगै नेपालीको महान् पर्व बडा दसैँमा मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम पनि समाप्त हुन्छ । 
चौवन्न बोकामध्ये नौ बोकालाई दसैँ घरमा बलि दिइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए । 
बाँकी बोका र ५४ राँगालाई भने हनुमानढोका दरबारको मूलचोकमा बलि दिइएको थियो । अखिल बलिपूर्ति गरिएसँगै दसैँ घरमा घटस्थापनाका दिन राखिएको जमरा सेलाइएको छ । 
जमरा सेलाएसँगै टीका र प्रसाद लगाउने क्रम अन्त्य भएको हो । यसैगरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले असोज २१ गते घटस्थापनाका दिन घर घरका पूजा कोठा एवं दसैँ घरमा राखेको जमरा पनि आज नजिकको ताल, तलाउ, पोखरी वा तीर्थस्थलमा लगी सेलाएका छन् । योसँगै दसैँको टीका लगाउने क्रम सम्पन्न भएको छ ।
मंगलबार राति धन धान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातमा जाग्राम बसेसँगै १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व समापन गरिएको छ । कोजाग्रत पूर्णिमाकाको दिनमा जाग्राम बसेर महालक्ष्मीको पूजा आराधना गर्नेका घरमा लक्ष्मीले वास गर्ने धार्मिक विश्वास छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार