दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा, सुदुरपश्चिम बढी प्रभावित

मंगलबार, कात्तिक २, २०७८

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ । 
खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन् । 
हाल बङ्गालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ । बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ । यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो । 
दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदुरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ । नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ । यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ । डोटीमा दुई र डडेलधुरा तथा कालिकोटमा एक÷एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ । मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ । 
प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङ्को जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ ।  
यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । 
खराब मौसमका कारण विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकसमेत प्रभावित भएका छन् । सडक अवरुद्ध हुँदा कति ठाउँका पर्यटक फर्कन नसकेको बताइएको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुदुरपश्चिमका अधिकांश सडक अवरुद्ध भएको जानकारी दिए । प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित हुन पुगेको छ । 
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा भएको छ । 
बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यसपटक मनसुनमा धेरै वर्षा भएको थियो । पोष्ट मनसुनमा समेत ठूलो वर्षा भयो । वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्धारको व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले  निर्देशन दिइसकेका छन् । गृहमन्त्री बालकृष्ण खाँणले पनि मातहतका निकायलाई उद्धार तथा राहतका कार्यमा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारी र प्रशासनलाई निर्देशन दिइसकेका छन् । 

उद्धारमा सेनाको हेलिकप्टर 

दुई हेलिकप्टरले उद्धारको प्रयास थाले पनि मौसम प्रतिकूल हुँदा उद्धार गर्न नसकेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । 
कञ्चनपुरमा सेनाको हेलिकप्टरबाट उद्धार गर्न गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि अहिले धनगढीमा बसिरहेको छ । मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर जाने पाण्डेले बताइन् । उनका अनुसार महाकाली नदीको बगरमा फसेकाको उद्धार गर्ने प्रयास भइरहेको र बैतडी क्षेत्रमा उद्धारका लागिसमेत काठमाडौँबाट हेलिकप्टर पठाइएको छ । 
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले उद्धार गर्न गएको सानो हेलिकप्टर मौसम खराबीका कारण अहिले धनगढीमा बसेको र काठमाडौँबाट पठाइएको ठूलो हेलिकप्टर पनि खराम मौसमका कारण सुर्खेतमा गएर बसेकाले मौसम अनुकूल हुने बित्तिकै उद्धारमा परिचालन हुने जानकारी दिए । 
उनले जमिनबाट गएका फौजले भने उद्धारको काम गरिरहेको जानकारी दिए । सँगसँगै सशस्त्र र नेपाल प्रहरीसमेत उद्धारमा परिचालित छ ।  
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक अलपत्र

ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटकहरु वर्षाका कारण अलपत्र परेका छन् । तीन दिनदेखि निरन्तर परेको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकहरु बाटोमै अलपत्र परेका हुन् ।
आइतबार सुरु भएको वर्षा सोमबार दिउँसो केही समय रोकिएपनि त्यसयता वर्षा अविरल भइरहेको छ । अहिलेको अविरल तथा निरन्तरको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेर रोकिएका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै रोकिएका छन् । यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोलामा रोकिएका छन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा वर्षाका कारण विदेशीसहित २८ जना पर्यटक रोकिएका छन् । कञ्चनजङ्घा हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु वर्षाले गर्दा घुन्सामै रोकिएका शेर्पाले बताउनुभयो । उहाँका अनुसार उक्त टोली सोमबार घुन्सा पुगेका हुन् ।
विदेशी पर्यटकमा अमेरिका, फ्रान्सलगायतका ११ जना रहेका छन् भने आन्तरिकमा झापा, काठमाडौँलगायत विभिन्न जिल्लाका पर्यटकहरु रहेका छन् । त्यस्तै कञ्चनजङ्घा आधार शिविर गएका विदेशीसहित १६ जना पर्यटक उतै रोकिएको पनि शेर्पाले जानकारी दिनुभयो । उक्त पर्यटकको टोली साता दिनअघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ । यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले सो क्षेत्रमै रोकिएका छन् ।
यता ताप्लेजुङ र सङ्खुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक वर्षाका कारण ओलाङ्चुङगोलामा रोकिएका छन् । ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाका अनुसार विदेशीसहितको उक्त टोली निरन्तरको वर्षाका कारण सोमबारदेखि रोकिएका हुन् ।
हाल तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजङ्घाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताउनुभयो । अहिले वर्षासँगै हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी रहेको र तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा बस्तीसम्म नै हिउँ पर्ने सम्भावना बढेको पनि शेर्पाले बताए ।
त्यस्तै तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमा पनि बुधबारसम्म नै वर्षा नरोकिए हिमपात हुनसक्ने स्थानीय तन्तिङ वालुङले बताए । फले, घुन्सा गाउँ कञ्चनजङ्घा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुआत विन्दु पर्दछ । पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।   
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  २२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार