तेह्रथुम-रसुवामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

आइतबार, असोज ३१, २०७८

तेह्रथुम : तेह्रथुममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका-९ पाटीगाउँका ६२ वर्षका दलबहादुर लिम्बूले मापासे सेवन गरी कुटपिट गर्दा आफ्नै श्रीमती ५५ वर्षीया  दिलकुमारी लिम्बूकाे मृत्यु भएकाे  जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनास्थलबाट फलामको धारिलो हतियार बरामत गरिएको र प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन । श्रीमतीको शरीर तथा अनुहारमा चोट देखिएको प्रहरीकाे भनाइ छ ।  

मृतक दिलकुमारीको शवकाे पाेस्टमार्टम जिल्ला अस्पतालमा तेह्रथुममा गरिएको छ । आराेपी दलबहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ । 

रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका-५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीया बाटुली तामाङनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए । 

प्रहरीका अनुसार शनिबार घरायसी विषयमा झैझगडा हुँदा ग्याङदानले श्रीमती तामाङनीलाई घरको पिँढीबाट लात्ताले हान्दा आँगनमा बजारिन गई गम्भीर घाइते भएकी थिइन । इलाका प्रहरी कार्यालय कालिकास्थानले जानकारी पाए लगत्तै घटनास्थलमा गएको प्रहरी टोलीले गम्भीर घाइते उनको उपचारका लागि जिल्ला अस्पताल नुवाकोट पठाएको थियो । चेकजाँचको क्रममा तामाङनीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । मृतकको शव पोष्टमाटम गरि आइतबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

७६ वर्षीय बुधे ग्याङदानलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार