नयाँ स्वरुपको कोरोना भाइरस ६० देशमा फैलियो

बुधबार, माघ ७, २०७७

जेनेभा । कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त सङ्गठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दोरुपमा विश्वमा बढ्दै गएको बताइएको छ । 
विश्व स्थास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार गएको एक हप्ताभित्रमा मात्र करिब ९३ हजार जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट उनीहरुको ज्यान गएको हो । 
त्यसमा यो नयाँ स्वरुपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमित थपिएका छन् । पछिल्लो समयमा युरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । युरोपेली युनियनले पछिल्लो तथ्याङ्कमा भनेको छ कि आगामी अगष्ट महिनाको अन्तिमसम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने भएको छ ।

भारतमा एक करोड पाँच लाख ९५ हजारभन्दा बढी कोरोना संक्रमित 
भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख ९५ हजार ६६० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १६२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५२ हजार ७१८ जना पुगेको छ । 
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड दुई लाख ४५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ९७ हजार २०१ सक्रिय सङ्क्रमित रहेका छन् । 
भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २३१ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड¬¬–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७६४ को मृत्यु भइसकेको छ ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बारसम्म देशभर १८ करोड ८५ लाख ६६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । मङ्गलबार एकै दिनमा मात्र सात लाख ६४ हजार १२० जनाको कोभिड¬–१९ परीक्षण गरेको जनाइएको छ । यसैबीच भारतमा गत शनिबारदेखि कोरोना भाइरसको विरुद्धको खोप पनि शुरु भएको छ । –एएफपी
 

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार