कहाँ छ कोरिया, कहाँ छौँ हामी ?

मंगलबार, जेठ ११, २०७८

कहाँ जापानले ४५ वर्ष शासन गरेको देश दक्षिण कोरिया कहाँ बृटिशले पूरै भारत कब्जा गरिसक्दा पाइला टेक्न नसकेको मेरो देश नेपाल । फरक अवश्य छ । तर फरक उल्टो छ । फरक यति छ कि आकाश र पातालबीच हुने फरक भन्दा बढी छ । हाम्रा नेताहरु आदर्शका मीठामीठा भाषणहरु जति मजाले छाँट्छन् उति नै मजाले आफ्नो आदर्शको खिल्लि पनि उडाउँछन् । कार्यक्रमस्थलमा फालिएका मिनरल वाटरका बोतलले दक्षिण कोरियामा एउटा बच्चाले बाटोमा आलुचिप्स खायो भने त्यसको खोल ब्यागमा बोकेर हिँड्छ, घरमा डस्टविन छ भनेर । तर हाम्रा देशका विभिन्न विद्वान नेतालाई थाहा छैन मिनरल वाटरको बोतल रिसाइकल हुन्छ भनेर । त्यो फ्याँकेर बाटो फोहोर गर्ने होइन त्यसलाई टिपेर रिसाइकल गर्ने हो । बेरोजगारीलाई रोजगारी दिने हो, देशको अर्थतन्त्र जोगाउने हो, खाडी पलायन रोक्ने हो एउटा खुड्किलो हो । यो कुरा कसले भनिदिने हाम्रा विद्वान् नेताहरुको टाउकोमा ? कोरियाको एउटा ५ वर्षको बालकको जत्ति पनि बुद्धि छैन हाम्रा वरिष्ठहरुसँग भने कोरिया र नेपालबीच फरक अवश्य नै छ । यो त एउटा सानो उदाहरण मात्र हो । समाज बदल्नु छ भने सुरुवात आफैंँबाट गर्नुपर्छ । हाम्रो देशको विकासको तरिका धेरै बाटो काट्न ज्यान माया मारेर अघि बढ्नु पर्छ किनकि जेब्राक्रस छ तर त्यो क्रस गर्नु भन्दा अघि गाडी रोकिनु पर्यो नि । अगाडि रोकिएको छैन किनकि गाडी रोक्नलाई न लाइटको व्यवस्था छ न त पर्याप्त ट्राफिक नै । कोरियामा जहाँ बाटो बन्छ त्यहाँ बाटो काट्न जेब्राक्रस अनि अगाडि रोक्नलाई ट्राफिक लाइट र नियम पालना भएको नभएको अनुगमन गर्नलाई सीसी क्यामेरा राखिएको हुन्छ । त्यसैले त कहाँ छ कोरिया, कहाँ छौँ हामी । भनिन्छ, कुनै बेला कोरियामा भोकमरीमा पर्दा नेपाल , भारतलगायत देशले खाद्यान्न सहयोग गरेका थिए । त्यो स्वाभिमान बिर्सेर आज हामी कोरियामा रोजगारीका लागि जान पाउँ भनेर भाषा परीक्षाको फाराम भर्न विवश छौँ । जम्मा १०,००० कोटाको लागि ८०,००० भन्दा बढी युवाहरु कोरियन भाषा सिकेर परीक्षा दिने तयारीमा छन् । जतिसुकै तयारी गरेपनि पास हुने भनेको १०,००० को हाराहारीमा हो । बाँकी ७०,००० को मेहनत भनेको बालुवामा पानी हो । तर हाम्रो सरकार गर्व गर्छ कि कोरिया रोजगारीको लागि आकर्षक गन्तव्य हो भनेर । तर ती घुम्ने मेचका अन्धा महापुरुषहरुलाई यो थाहा छैन कि कोरियनहरु पनि पहिले बेरोजगार खाडी जान्थे । यदि त्यो देश चलाउने नेता नेपाली थिए भने सायद आज कोरियनहरु पनि हामी जसरी नै विकिदिन्थे होला । कोरियनहरु विदेश गए तर त्यहाँबाट ल्याएको पैसा र सिकेको सीपले आफ्नै देशमा उद्योगधन्दा चलाए तर हामी नेपाल आयौँ घर बनाएर फेरि खाडीमा गएर मेसिन चलायौँ । यसैले त फरक छ नेपाल र कोरियामा ।
काम सानो र ठूलो नहुनु अनि ज्याला समान हुनु दक्षिण कोरियाको अर्को विशेषता हो । त्यहाँ कम्पनिका मालिकहरु पनि साधारण कामदारसरह काम गर्छन् जसरी चे ग्वाभारा मन्त्री हुँदा पनि फ्याक्ट्रीमा गएर काम गर्थे । यो काम गर्दा इज्जत बढ्ने अनि त्यो काम गर्दा इज्जत घट्ने भन्ने संस्कार कोरियामा छैन । त्यहाँ सानो ठूलो स्वदेशी विदेशी जो कोहीले काम गरेपनि न्यूनतम पारिश्रमिक सबैको समान छ । र वर्षपिच्छे तलब बढ्छ । हाम्रो देशमा जस्तो तलब वृद्धि गर्नुपर्यो भनेर आन्दोलन गरिरहनुपर्दैन । हामी चटपटे खान्छौँ लाज हुँदैन तर त्यही चटपटे बेच्नेको चाहीँ बेइज्जत भयो भन्छौँ । चटपटे खाँदा लाज नहुने तर बेच्दा लाज हुने, लुगा सिउनेले छोएको नचल्ने तर त्यही लुगा लगाएर हिँड्दा आपmूलाई वरिष्ठ महसुस हुने । यसले अन्यायपूर्ण सामाजिक विरोधाभाष सृजना भएको छ । यस्तो पाराले देश कसरी अगाडि बढ्छ ? सबैले सोच्ने कुरा यही हो । कोरियाको फेशन मात्र हैन हामी कोरियन संस्कृति संस्कार पनि सिक्नु जरुरी छ । विडम्बना यो छ कि कसैले कोरिया यस्तो छ, हामी पनि यस्तै गरौंन भन्यो भने यो कोरियामा गएर के आएको थियो, तेस्तै भइसक्यो भनेर उसको खिल्ली उडाइन्छ । मानौं देश बनाउने काम नेताहरुको मात्र हो, जनताको हैन । हामी यति धेरै पछि छौँ कि रुढीवादी कुरा र जातीय विभेदमा अल्झेका छौँ । हामी कुवामै छौँ। कुवाभन्दा माथि उक्लेका छैनौँ । त्यसैले कुनै नेताले विदेश भ्रमण गरे भने त्यसको विरोध नगरौँ । उनीहरुले संसारको विकास देख्छन् , अनि हामी ढुंगे युगमै रहेछौँ भनेर महुसुस गर्छन् । कोरियामा नो हो भ्यान काम गरेका पूर्वराष्ट्रपति आपmू माथि भ्रष्टाचारको अभियोग सहन नसकेरै आत्महत्या गरे । हाम्रा देशका नेता भ्रष्टाचारको अभियोग मात्र हैन प्रमाणित नै हुँदा पनि फूलमाला र अबिर लगाएर आफूलाई महान् ठान्छन् । दक्षिण कोरिया यस्तो देश हो जहाँ वेश्यालयमा एउटा पुरुष छिरेको शुल्क कति हो , भन्ने कुरा सरकारले तोकिदिन्छ । हामी महिला अधिकारको कुरा उठाउँछौँ । एउटी महिलालाई आफ्नो शरीर बेच्न पाउने my body my right को अधिकार दिन हिच्किचाउँछौँ ।

मजदुरको नाममा ठूलाठूला आवाज उठाउँछौँ तर सिंहदरबार अगाडि गुड्ने माइक्रो चालक र सहचालकले न्यूनतम् पाए पाएनन् भनेर अनुगमन गर्दैनौँ । नियम बनाएपछि सबै कुरा स्वतस्फूर्त कार्यान्वयन हुन्छ । कोरियामा नियमलाई अक्षरशः पालना गरिन्छ । हामी नियम बनाएर दराजको कुनामा थन्क्याउँछौँ । त्यसैले त त्यो कोरिया अनि यो नेपाल । हामीले कल्पना गरेको स्वर्ग उसले बनाइसक्यो, तर हामी धार्मिक ग्रन्थमा कल्पना गरेको स्वर्गको बखान पढ्नमै सीमित छौँ ।दक्षिण कोरिया गणतन्त्रात्मक देश हो । अनि नेपाल पनि गणतन्त्र आएपछि राजा सामन्तवाद हुनुपर्ने हो, देश विकासको बाधक जहाँनिया राणाशासन भयो भनिनुपर्ने हो तर यसको सट्टा राजाले देश जोगाउन सहयोग गरे भनेर त्यहाँ पढाइन्छ । पैसामा पनि फोटो छापेर राजाको सम्मान गरिन्छ । हाम्रो देश नेपालमा सय वर्षअगि राणाहरुले देश जोगाए भनेर पढाइयो, पचास वर्षअगि महाराजाहरुले जोगाए भनेर पढाइयो, अहिले आएर ती दुवैलाई सामन्तवाद भनेर व्याख्या गरियो , भोलि अर्को तन्त्र आउला अनि अहिलेको व्यवस्थालाई पनि खतम व्यवस्था भनी व्याख्या गरिएला । यसरी इतिहासलाई आफूअनुकूल व्याख्या गर्ने काम नेपालमा गरिन्छ । एउटा विदेशीले नेपालको इतिहास पढ्यो भने उ रनभूल्लमा पर्छ । नपरोस पनि कसरी कुनै इतिहास सही छैनन् , व्यवस्था अनुरुप मनपरी इतिहास बनाइएका छन् । अमेरिकामा अब्राहम लिंकन राष्ट्रपति भए उनले दासप्रथाको अन्त्य गरे । यो राम्रो काम हो तर त्यो भन्दा नि राम्रो काम त नेपालमा चन्द्र शमशेरले सती प्रथाको अन्त्य गरे । एउटी महिला आफ्नो पतिको मृत्युमा जिउँदै जलेर मर्नु चानचुने कुरा होरु यो सानुतिनु प्रथा हो  ? यस किसिमको कहालिलाग्दो प्रथाको अन्त्य गर्ने चन्द्र शमशेर नेपाली इतिहासमा कसरी कलंकित भएरु आफू राम्रो काम गर्न सक्दैनौ अनि उसको दोष औंल्याएर
 पानीमाथिको ओभानो बन्न खोज्छौ । इतिहास सत्य लेखिनु पर्छ चाहे त्यो आफ्नै विरुद्ध किन नहोस् । भावी पुस्ताले सत्य इतिहास पढून् अनि मनन् गरुन् नकि झुटो इतिहास पढेर तत्कालीन राज्यव्यवस्थाप्रति आलोचना गरुन् ।
कोरियाको आम्दानीको मुख्य स्रोत भनेको सामान निर्यात गर्ने अनि विदेशी मुद्रा आर्जन गरेर देशको अर्थतन्त्र मजबुत बनाउने होे । हाम्रो भनेको बेरोजगार युवा विदेश पठाउने अनि आएको आम्दानीले देशको अर्थतन्त्र धान्ने हो । यो देशका शासकले विदेशबाट भित्रिएको रेमिट्यान्सले उद्योग धन्दा खोलेर स्वदेशमै रोजगारीको सृजना गर्ने कुरा कहिल्यै सोचेनन् । सबै भेडा बाख्रा जसरी देशका युवालाई विदेश पठाएर भित्रिएको रकमले तलब भत्ता खाएर कुम्भकर्ण जसरी सुतिरहे । यिनीहरुलाई यो थाहा छैन कि कोरियनहरु भोकमरीमा परेर समुद्रको लेउ खान बाध्य भएका थिए । त्यो बेला उनीहरुको पेटमा नेपालको पनि अन्न परेको थियो । तराईमा धान उत्पादन बढी भएर नेपालले विदेश पठाउँथ्यो । प्रकृतिले दिएको त्यो उर्वर भूमि आज प्लटिङ्गले सखाप पारेको छ । कोरियामा जथाभावी घर बनाउन पाइँदैन । घर बनाउने ठाउँमा घर र खेती गर्ने ठाउँमा खेती गर्नुपर्छ जमिन बाँझो राखे जरिवाना तिर्नुपर्छ । आज हामी वार्षिक करिब २५ अर्बभन्दा बढीको चामल भारतबाट आयात गर्छौं । हाम्रो मेहनत सबै भारतमा जान्छ । मौरीको चाकाबाट मह निकालिसकेपछि रहेको खोस्टा जसरी खाडीको पैसा नेपालमा बस्छ अनि मह चाहीँ भारतमा जान्छ । अनि देश कसरी बन्छ रु ठूलाठूला वरिष्ठले गाउँका सोझा जनता भेला पारेर आदर्शका आश्वासनहरु दिन सजिलो छ तर देशलाई विकास गर्न मीठा कुरा र चाम्रो मासुले सकिंदैन । कसैको विरोध गर्नुपर्यो भने विरोध ठाँउ हुन्छ । कोरियामा अनि हाम्रो देश चाहीँ लोकतान्त्रिक तर विरोध गर्नलाई सीधै गाडी बन्द गर्नुपर्छ , जनतालाई दुःख दिनुपर्छ अनि मात्रै आफ्नो स्वार्थ पूरा हुन्छ ।

आन्दोलनले गर्दा देशको हरीबिजोक छ तर सरकार चुपचाप छ ।भूकम्पले गर्दा जनता त्रिपालमुनि छन् तर सरकार विदेशीले दिएको रकम खल्तिमा हालेर चुपचाप छ । सरकार छ तर कहाँ छ भनी दिउँसै बत्ती बालेर खोज्ने बेला आएको छ । सरकारी विद्यालय छ तर पढ्नुपर्छ निजीमा । सरकारी अस्पताल छ तर डाक्टरहरु भेटिन्छन् निजीमा , कर्मचारी छन् तर सहारा लिनुपर्छ दलालको , धारा छन् तर पानी किन्नुपर्छ जारको , बत्ती छ तर जोड्नुपर्छ सोलार, जलस्रोतको धनी देश तर खेती गर्ने बेला भ्यागुताको बिहा गर्नुपर्छ । सीसी क्यामेरा छ तर क्यामेरामा टेप टाँसेर खल्तिमा रकम हालिन्छ । जताततै भ्रष्टाचार र कमाउधन्दा मात्रै छ । कोरियाको अख्तियारले राष्ट्रपति कार्यालयको छानबिन गर्न सक्छ तर अख्तियार एउटा पत्रकारलाई छुन सक्दैन नेताको त कुरै छोडौं ।
देशको मान्यता, विकृति विसंगतीलाई सबैको मन कुंडिएर आउँछ । देशको राजनैतिक सामाजिक व्यवस्थासँग संघर्ष गरेर विदेशिने युवाहरुको संख्या बढ्दो छ । यसरी युवा पलायनले देश बन्दैन भन्ने सबैले सोच्नु जरुरी छ । हामी पनि कोरियाबाट सिकौं र देशमै केही गरौं । कोरिया उपनिवेश बन्यो, युद्ध भयो , टुक्रियो , विकासका संरचनाहरु ध्वस्त भए, भोकमरीमा परे, समुद्रको लेउ र जंगलको कन्दमूल खान बाध्य भए । यति हुँदाहँदै पनि उसले ५० वर्षको अवधिमा गरेको यो प्रगतिबाट हामीले सिक्ने हो भने नेपाल विकास हुनलाई ५० वर्ष कुरिरहनै पर्दैन । कोरियासँग के छरु केही पनि छैन तर हामीसँग पर्यटन, उर्वरभूमि, हरियाली जंगल, वन्यजन्तु विभिन्न प्रकारका खानीहरु छन् । मात्र यसको सही सदुपयोग गर्ने एउटा राजनेताको खाँचो छ । आशा छ , त्यो राजनेता देशले चाँडै पाउनेछ ।
[इटहरीका पोखरेल हाल दक्षिण कोरिया बस्छन ]
    
   

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार