एमाले अछाममा ओली भर्सेस रावल, मतगणना हुँदै

बुधबार, पुस २८, २०७८

अछाम, २८ पुस : एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियाे । बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएकाे हाे ।

सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए । उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्नेछ । सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए ।

अधिवेशनमा सात सय ६२ प्रतिनिधिमध्ये सात सय ४९ जनाले मतदान गरेका थिए । अछामको एमाले नेतृत्वका लागि दुईवटा समूह चुनावी मैदानमा छन् । पार्टी अध्यक्ष केपी ओली समूहबाट चन्द्र बोहरा र नेता भीम रावल समूहबाट प्रकाश शाह प्यानलसहित प्रतिस्पर्धामा छन् ।

बोहरा प्यानलबाट उपाध्यक्षमा भीम विष्ट, सचिवमा आदर्श साउद उम्मेदवार छन् भने शाह प्यानलबाट उपाध्यक्षमा बलबहादुर कुँवर र सचिवमा भीम रावल (कालो टोपी) मैदानमा छन् । उपसचिवमा शाहको प्यानलबाट प्रेम महर र प्रेम खत्री उम्मेदवार बनेका छन् । बोहरा प्यानलमा सहमति नहुँदा चारजना उम्मेदवार बनेका छन् । उपसचिवमा उम्मेदवार बनेका नवराज साउद, टोपबहादुर शाही, शेरबहादुर बुढा र लिलाराज केसी बोहरा निकट मानिन्छन् । 

नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् ।

पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको अधिबेशनले शाहीलाई सर्वसहमतमा चयन गरेको एमाले बाजुराले जनाएको छ ।

उनी जगन्नाथ गाउँपालिकाको अध्यक्षसमेत हुन् । यस्तै, अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहोरा र हरि रोकाया चयन भएका छन् । अध्यक्ष शाहीको नेतृत्वमा ९० जनाको जिल्ला कमिटी गठन भएको छ । अधिवेशन २७ पुसमा सम्पन्न भएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार