महाधिवेशनमा आएका अपांगता भएका नागरिक भन्छन्. 'कांग्रेससँग आशा छैन, भरोसा भने छ'

शनिबार, मंसिर २५, २०७८

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सहभागी हुन कालीकोटकी शुक्रबार बिहानै ह्वील चेयरमा सुशीला कुमारी शाही आइन् । जोरपाटीमा अस्थायी बसोबास गर्दै आएकी उनलाई केही दिनअघि जिल्लाका नेताले फोन गरेर महाधिवेशन उद्घाटनमा उपस्थित हुन अनुरोध गरे । उनी कांग्रेसको क्रियाशील सदस्य पनि हुन् ।

नेताले भनेपछि सुशीलाले इन्कार गर्न सकिनन् । अनि, शुुक्रबार बिहानै ट्याक्सी चढेर महाधिवेशनस्थल भृकुटीमण्डपमा आइन् ।

दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रम करिब एक घन्टा ढिलो सुरु भयो । उनी कार्यक्रम स्थलमा आइपुग्दा भिडभाड बाक्लै भइसकेको थियो ।
सुशीला बल्लतल्ल महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारबाट भित्र छिरिन् । तर, उनले राम्ररी मन्च देख्न पनि पाइनन् । मञ्च नजिकै गएर हेर्न उनले पटक पटक प्रयास गरिन्, तर सकिनन् । त्यो भिडले उनको लागि बाटो छाडेन ।

‘अपांगतामैत्री कार्यक्रमस्थल नै छैन । समस्याको के कुरा गरौँ, राम्ररी हिँड्न पनि गाह्रो भएको छ । अहिलेसम्म भित्र छिर्न पाएको छैन्’, उनी भन्छिन् ।
नेपालका बाटो, सडक, अस्पताल, सरकारी अड्डा, सार्वजनिक स्थलदेखि मन्त्रालयसम्ममा आसै अपांगमैत्री वातावरण नभएको भन्दै उनले गुनासो पोखिन् । 
सबेरै कार्यक्रमस्थल आइपुगेकी उनमा नेपालका कुनै पनि राजनीतिक दलसँग कत्ति पनि आशा छैन् । ‘कसैले अहिलेसम्म हाम्रो लागि केही गरे जस्तो लाग्दैन् । कांग्रेससँग पनि आशा छैन, तर भरोसा भने छ । कांग्रेसले गर्ला नगर्ला थाहा छैन’, उनी भन्छिन् । 

महाधिवेशनस्थलमै ह्वीलचेयरमा यताउता गरिरहेका थिए, काठमाडौंका रामबहादुर श्रेष्ठ । रामबहादुरको राजनीतिक आस्था नेपाली कांग्रेसप्रति छ । त्यसैले उनी महाधिवेशन हेर्न आए । तर, महाधिवेशनस्थलमा अपांगता भएकाहरूलाई केही भए पनि सहज वातावरण नदेखेपछि भने उनको चित्त दुख्यो । 
‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । सबै वर्ग र क्षेत्रका लागि केही गर्छ भन्ने लाग्याथ्यो । तर, यहाँ आएपछि दिक्क लाग्यो । मञ्चसम्म पनि पुग्न पाइएन । त्यसैले बाहिरतिरै घुमिरहेको’, उनी भन्छन् । शाही र श्रेष्ठको मात्रै हैन, महाधिवेशनस्थलमा भेटिएका अधिकांश अपांगता भएका व्यक्तिहरूले यहाँ असहज महसुस गरिरहेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार