त्रिपालमुनि नै बित्ने भयो सुकुम्बासीको दसैँ

बुधबार, असोज २७, २०७८

झापा । दमक–७ पञ्चमुखी टोलकी धनमाया विश्वकर्माले गत वर्ष आफ्नै घरमा दसैँ मनाएकी थिइन् । सुकुम्बासी धनमायाले वर्षभरि मजदुरी गरेर भए पनि विगतमा दसैँ धुमधामका साथ मनाउँथिन् । तर यसपटकको दसैँ उनका लागि दशा बनेर आएको छ । आफ्नो घर छैन । त्रिपालमुनि दसैँ बनाउनुपर्ने बाध्यता छ ।  गत चैतमा धनमायाको टहरामा डोजर लाग्यो । त्यसयता उनी त्रिपालमुनि छिन् । ‘गत सालसम्म त आफ्नै घरमा दसैँ बनाएका थियौँ । सानै र सुकुम्बासी बस्तीमै भए पनि आफ्नै घर थियो,’ उनी भन्छिन्, ‘यसपालि त हाम्रा लागि दसैँ दशा रहेछ । दसैँ के आउनु र !’  विगतमा आफन्त बोलाएर दसैँ मनाउँथे सकुम्बासी बलबहादुर विश्वकर्मा । तर, यसपटक बस्ने घर छैन । सहरको कुरूप उपनाम दिएर दमक नगरपालिकाले उनको घरमा डोजर लगायो । पञ्चमुखी टोलका सात घर सुकुम्बासी एकै ठाउँमा त्रिपाल टाँगेर सामूहिक बसेका छन् । ‘यसपटक त आफन्त बोलाउन सक्ने अवस्था छैन । बोलाएर के खाने ? कहाँ बस्ने ?,’ बलबहादुर भन्छन्, ‘जीवनमा यस्तो बिजोग हुन्छ भन्ने पनि सोचेका थिइनँ ।’  नगरपालिकाले घर भत्काएपछि कमाएर खानसम्म सकेका छैनन्, सुकुम्बासीहरूले । वर्षौ दुःख गरेर टाउको लुकाउन बनाएको घर नगरपालिकाले भत्कायो । ‘घर भत्काएपछि काममा जानसक्ने अवस्था पनि रहेन,’ बलबहादुर भन्छन्, ‘लकडाउनले त्यसै ऋण लागेको थियो । तिर्न नपाउँदै घर भत्कायो । केही समय त सहयोग गर्नेले दाल, चामल दिए । त्यही खाएर अहिलेसम्म बसेका छौँ । दसैँमा यसले पुग्दैन ।’ टहरमुनि केटाकेटी पनि छन् । उनीहरूले दसैँमा केही नदिएको भनेर अभिभावकलाई गुनासो गरिरहेका छन् । अभिभावक विवश छन् । उनीहरूको इच्छा पूरा गर्न सकेका छैनन् । ‘बजारमा दसैँमा नयाँ लुगा किन्नेको भिड छ । हाम्रा केटाकेटीले पनि यो देख्छन् । हामीलाई चाहिँ किन नकिनिदएको भनेर किचकिच गरिरहेका छ,’ सकुम्बासी राम लिम्बु भन्छन्, ‘हामीसँग जवाफ छैन । हामी ठूला त भोकै भए पनि कटाउँछौँ÷कटाएका छौँ । तर केटाकेटीलाई सम्झाउन निकै गाह्रो हुन्छ । अब दसैँमा मीठो मसिनो के खुवाउने भन्ने चिन्ता छ, हामीलाई ।’ सुकुम्बासीका लागि चाडपर्व नआएकै राम्रो हुने बताउँछन् सुकुम्बासी बालकुमार राई । यसपटक दसैँ मनाउन सक्ने अवस्थामा नरहेको उनले बताए । ‘दसैँ पहिला त जसरी भए पनि भव्य मनाउँथ्यौँ । कम्तीमा छोराछोरीको रहर पूरा गथ्र्यौँ । काम गरेर पैसा छ भनेर त कहिले पुगेन । तर, कम्तीमा साहुले ऋण पत्याउँथे । त्यही ऋण लिएर भए पनि दसैँ मनाउँथ्यौँ,’ उनले भने, ‘पछि साहुलाई बुझाउँथ्यौँ । तर, अहिले त साहुले घर–ठेगाना केही छैन भनेर पत्याउनै छाडे । दसैँ खल्लो भयो । बरू दसैँ नआएको भए अरू बेला जस्तै दुःख गरेर खाने थियौँ । अरूले मिठो मसिना खान्छन्, राम्रो लुगा लगाउँछन् । हाम्रा छोराछोरीलाई हामीले केही गर्न सकेनौँ ।’ पहिलो दसैँ पञ्चमुखी टोलका सुकुम्बासीले त्रिपालमुनि बिताए । राज्यले घरमा डोजर लगायो । तर, उनीहरूको व्यवस्थापनमा कुनै चासो दिएन । दमक नगरपालिका सकुम्बासीका लागि बनाएको एकीकृत बस्तीमा जान सुकुम्बासीलाई आग्रह गरिरहेको छ । उनीहरू संविधानले नै जग्गा धनीपूर्जाको व्यवस्था गर्ने भएकाले धनीपूर्जाविनाको एकीकृत बस्ती जान मान्दैनन् । अझै कतिवटा दसैँ यही त्रिपालमुनि बिताउनुपर्ने हो टुंगो छैन, उनीहरूको । ‘अब यस्ता चाडपर्व त कति यही त्रिपालमुनि बिताउनुपर्ने हो थाहा छैन,’ सुकुम्बासी मनाहाङ्ग सुब्बा भन्छन्, ‘धेरैवटा दसैँ यसरी नै त्रिपालमुनि बिताउन तयार छौँ हामी । तर, हामीले पाउने अधिकार स्थापित गराएरै छाड्छौँ ।’
 

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार