कहाँ गयो सरसफाइबापतको ८३ लाख रुपैयाँ ?

शुक्रबार, असोज २२, २०७८

सप्तरी : मुलुककै पुरानो तथा ऐतिहासिक शहरको रूपमा परिचित  राजविराज नगरपालिकाभित्रको फोहोर व्यवस्थापनमा करोडौँ बजेट दुरूपयोग हुने गरेको पाइएको छ ।

नगरपालिकाको ठूलो रकम सरसफाइमा खर्च भए पनि अपेक्षित रूपमा फोहोर व्यवस्थापन नहुँदा बजेटको दुरूपयोग हुँदै आएको हो ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७८ अनुसार प्रत्येक वर्ष सरसफाइ कर्मचारीको ज्यालामा मात्र ७२ लाख ९० हजार रुपैयाँ खर्च गरेको देखिन्छ । यस्तै, सफाइका सामान खरिदमा १० लाख रुपैयाँ गरी बर्सेनि ८२ लाख ९० हजार रुपैयाँ खर्च हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले सोहीअनुसारको सवारी साधन र त्यसमा लाग्ने इन्धन खर्च गर्ने गरेको छ । महालेखाको प्रतिवेदनमा सवारी साधन तथा त्यसमा लाग्ने इन्धन खर्च भने उल्लेख गरिएको छैन ।

नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा करोडौँ रकम सके पनि सरसफाइको अवस्थामा भने सुधार ल्याउन नसकेको स्थानीयहरूको आरोप छ ।

नगरपालिकाभित्र विभिन्न स्थान, सडक पेटी, नाला, घना आवादी क्षेत्रमा अत्यधिक फोहोर देखिन्छ ।

यसका लागि नगरपालिकाले दीर्घकालीन कार्ययोजना बनाई नगरभित्र र बाहिरबाट नगर प्रवेश गर्ने जनताको स्वस्थ जीवनयापन गर्ने अधिकारको सुनिश्चितता गरी नगर क्षेत्रलाई स्वच्छ, सफा, सुन्दर र हराभरा बनाउनुपर्ने भए पनि दुर्गन्धित हुँदै आएकाले  बजेटको दुरूपयोग मात्र भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजविराज नगरपालिकाले नगर क्षेत्रमा भएको फोहोर नउठाउँदा बजार दुर्गन्धित हुने गरेको महिला मानवअधिकार रक्षक संजाल सप्तरीकी अध्यक्ष अनिता देवकोटाले बताइन् । नगरपालिकामा नाला जाम भएर पानीको निकास नहुँदा थप दुर्गन्ध फैलिएको उनको भनाइ छ ।

राजविराज नगरपालिकामा फोहोरसँगै अधिकांश सडक जीर्ण भई सर्वसाधारणलाई आवतजावत समस्या हुँदासमेत नगरपालिका भने मौन बसेको स्थानीय अम्बिका दाहाल बताउँछिन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार