अग्निसाइर कृष्णासवरण गाउँपालिकामा १० करोड बराबर बेरुजु

मंगलबार, असोज १९, २०७८

सप्तरी : 

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा जनप्रतिनिधिदेखि सवारी चालकसम्मको बेरुजु रहेको पाइएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, २०७८ अनुसार विभिन्न प्रयोजनका लागि लिएको झण्डै १० करोड रुपैयाँ पेस्की फर्छ्योट नगरेको पाइएको हो ।

गाउँपालिकाले नौ करोड ९१ लाख २७ हजार ६५१ रुपैयाँ बेरुजु राखेको प्रतिवेदनमा उल्लेख छ । सो रकमसमध्ये गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले एक लाख, वडा- १ का अध्यक्ष तेजनारायण चौधरी थारूले पाँच लाख, वडा- ४ का अध्यक्ष तेजनारायण यादव (महेश)ले पाँच लाख, वडा- की अध्यक्ष कुसुम आचार्यले चार लाख ६४ हजार, वडा- ५ का अध्यक्ष श्रीप्रसाद यादवले तीन लाख ९० हजार रुपैयाँ बेरुजु राखेका प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सत्य सीता कन्स्ट्रक्सनलाई चार लाख ११ हजार, आर्यन कन्स्ट्रक्सनलाई चार लाख २७ हजार, स्काभेटर चालक ईश्वरकुमार जोशीलाई ३० हजार र एम्बुलेन्स चालक ओमप्रकाश यादवलाई १२ हजार ८८० रुपैयाँ गरी कुल २८ लाख ३४ हजार ८८० रुपैयाँ बेरुजु रहेको महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।

बेरुजु राख्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रप्रसाद यादव, सहलेखापाल रोहितकुमार देव, खरिदार रामबाबु यादवसहित विभिन्न निर्माण कम्पनी, विद्यालयहरूदेखि उपभोक्ता समितिसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानी सरकार संचालन ऐन, २०७४ विपरीत हुने गरी विभिन्न प्रयोजनका लागि लिएको पेस्की फर्छ्योट नगरेको पाइएको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ८० मा सरकारी कामकाजका निमित्त एक आर्थिक वर्षमा गएको पेस्की रकम सोही आर्थिक वर्षमा फर्छ्योट हुन नसकेमा कार्यालय प्रमुखले त्यसरी फर्छ्योट हुन बाँकी रहेको रकमको नामसहित केकेबापत पेस्की गएको हो, सोसमेत खुलाई जिम्मेवारी अर्को वर्षमा सारी प्रमाणित र यसरी सारिएको पेस्की नियमावलीबमोजिम फर्छ्योट गर्नुपर्ने व्यवस्था छ ।

यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले कुन प्रयोजनका लागि पेस्की लिएर बेरुजु भएको भन्नेबारे बुझेर छिट्टै चिठ्ठी काटेर बेरुजु फर्छ्योट गर्न लगाउने बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार