बढाएको तलब माग गर्दै विद्यालय कर्मचारी आन्दोलित

आइतबार, असोज १७, २०७८

बैतडी : 

बैतडीको दशरथचन्द नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । संघीय सरकारले तोकेबमोजिम आफूहरूको तलब-भत्ता बढ्नुपर्ने माग राख्दै उनीहरू आन्दोलित भएका हुन् ।

संघीय सरकारले बजेट भाषणमा घोषणा गरेअनुसारको तलब-भत्ता हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकामा ज्ञापनपत्र बुझाइएको बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन् । उनले भनिन्, ‘हामी दशथचन्द नगपालिकामा ७१ जना बालविकास सहयोगी कार्यकर्ता छौँ । हामीमध्ये सबै जना कम्तीमा पनि १५ वर्ष काम गरेका छौँ । हामीले बालबालिकाहरूलाई मात्र नभई विद्यालयमा सातवटै पिरयड पढाउनुपर्ने हुन्छ । हाम्रो यसै कुरालाई मध्यनजर गरी संघीय सरकारले तलब बढाएको हो तर स्थानीय सरकारले बढेको तलब दिन आनाकानी गरेको छ ।’

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने विद्यालय कर्मचारीहरूले बताएका छन् । बालविकास सहयोगी कार्यकर्ता मञ्जु भट्टले भनिन्, ‘हामीले गत साउन महिनादेखि बढेको १५ हजार रुपैयाँ तलब पाउनुपर्ने हो तर दशरथचन्द नगरपालिकाले आनाकानी गरिरहेको छ । स्रोत छैन भन्छ । हाम्रा लागि बढाइएको तलब नपाएसम्म आन्दोलन गर्छौं । पहिलो चरणमा ज्ञापनपत्र बुझाएका हौँ । माग पूरा नभएको खण्डमा तालाबन्दी, धर्नालगायतका विरोधका कार्यक्रम गर्छौं ।’

विद्यालय सहयोगी मानमती महरले भनिन्, ‘शिक्षक, विद्यार्थी र अरू विद्यालयका कर्मचारी १० बजे विद्यालय आए पनि हुन्छ । तर, हामी एक घण्टा अघि नै स्कुल आउँछौँ । स्कुल बन्द भएपछि फर्किन्छौँ । विद्यालयको सरसफाइदेखि बच्चाहरूका लागि खाना पकाउने, भाँडाकुँडा धुनेलगायतका काम गर्छौं । विद्यार्थीहरूको दिशापिसाबसमेत सफा गर्छौं तर तलब चार हजार मात्र पाउँछौँ । त्यसैले सरकारले तोकेको १५ हजार रुपैयाँ पाउनुपर्छ ।’

संघीय सरकारले विद्यालय कर्मचारी र बालविकास सहयोगी कार्यकर्ताको तलब कम्तीमा १५ हजार रुपैयाँ पुर्‍याइदिने बजेट भाषणमा घोषणा गरेकाले सोहीअनुसार तलब पाउनुपर्ने उनीहरूको माग छ । यस विषयमा दशरथचन्द नगरपालिकाले निर्णय गर्न बाँकी रहेकाले छलफलपछि निर्णयमा पुग्ने नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए ।

संघीय सरकारले विद्यालय कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता र लेखापालको तलब कम्तीमा १५ हजार रुपैयाा पुर्‍याउने भने पनि आधा रकम संघीय सरकारबाट प्राप्त हुने र आधा रकम स्थानीय तहले थप्नुपर्ने भनेको थियो । तर, बैतडीका केही स्थानीय तहले बढेको तलब खुवाउन थालेका छन् भने केहीमा रकमको स्रोत छैन भन्दै आनाकानी गर्दा विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार