देशभित्र सू चीको लोकप्रियता बढ्यो

म्यान्मार चुनाव 
बुधबार, कात्तिक २६, २०७७

काठमाडौ । भर्खरै सम्पन्न आम निर्वाचनमा म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सू चीको दल नेशनल लीग फर डेमोक्रेसी एनएलडीले बहुमत प्राप्त गरेको छ । राष्ट्रपति प्रणाली भएको म्यान्मारमा अब एनएलडीले राष्ट्रपतिको चयन र नयाँ सरकार गठन गर्नेछ । एनएलडीलाई राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३२२ सदस्य आवश्यक पर्नेमा एनएलडीले ३६१ स्थानमा विजय प्राप्त गरिसकेको छ ।
मतगणना जारी रहेको ९५ निर्वाचन क्षेत्रमा पनि एनएलडीका उम्मेदवार अन्य उम्मेदवारभन्दा अगाडि छन् । म्यान्मारभित्र र बाहिर यो चुनावलाई सू चीको लोकप्रियता मापनको रूपमा हेरिएको थियो । 
रोहिन्ज्या प्रकरणपछि विश्वभर नै सू चीको आलोचना भएको थियो । सू चीले प्रजातन्त्रको लागि सङघर्ष गर्दा पाएका कतिपय सम्मान र पुरस्कार उनीबाट खोसियो पनि तर यसपटकको चुनावी परिणामले देशभित्र भने उनको लोकप्रियता थप बढेको देखियो ।
हालसम्मको मत परिणामलाई हेर्दा उनको पार्टीले सन् २०१५ मा भन्दा धेरै मत र संसद्मा धेरै सिट जित्ने पक्का छ । सन् २०१७ मा म्यान्मारको रखाइन राज्यमा भएको हिंसापछि लाखौँको सङख्यामा रोहिन्ज्या शरणार्थीहरू देशबाट भागेका थिए । 
गम्भीर प्रकृतिको मानव अधिकार हनन् भएको भन्दै म्यानमारबाट सात लाखभन्दा धेरै रोहिन्ज्या शरणार्थी बंगलादेश पुगेपछि सू चीले राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालत द हेगको यात्रा पनि गर्न प¥यो ।
म्यान्मारको राजनीति र इतिहासबारे जानकार लेखक थान्ट मिन्ट यु सू चीको यो विजय बर्मेली नागरिकको प्रजातन्त्रप्रतिको रुझान हो भन्छन् । ‘यो निर्वाचनलाई पनि मतदाताले आङ साङ सू चीको सेनासँगको संघर्षकोरू पमा लिए’ थान्ट मिन्ट युले भने, ‘बर्मेली मतदाताको लागि प्रजातन्त्र महत्वपूर्ण हो भन्ने सन्देश चुनावले दिएको छ ।’
म्यान्मारको दोस्रो ठूलो दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी युएसडिपी सेना समर्थित दल हो । पहिलो ठूलो दल एनएलडी र दोस्रो ठूलो युएसडीपीबीच धेरै मतमतान्तर छ । अहिलेसम्म युएसडीपीले जम्मा २१ स्थानमा मात्र विजय हासिल गरेको छ । अमेरिकामा गत साता भएको चुनावका कारण संसारभर म्यान्मारको यो पटकको चुनाव भने छायाँमा परेको थियो । 
राष्ट्रपति प्रणालीमा अमेरिका र म्यान्मार दुबै देशमा राष्ट्रपति भन्ने प्रत्यक्ष मतदानबाट चुनिने हैनन् । अमेरिकामा इलेक्टरल कलेज मार्फत राष्ट्रपति चुनिन्छन् भने म्यान्मारमा संसद्को दुबै सदनको बहुमत सांसदको मतदानबाट राष्ट्रपति चुनिन्छन् । अमेरिकामा जस्तै म्यान्मारमा पनि दुबै सदनका सदस्य भने प्रत्यक्ष जननिर्वाचित हुन् । अमेरिकामा दुबै सदनको गरी ५३८ सिट सङख्या छ । म्यान्मारमा दुबै सदनको गरी ६६४ सिट । तर म्यान्मारमा सन् २००८ को संविधान अनुसार सेनाका लागि २५ प्रतिशत अर्थात १६६ सांसद सङ्ख्या सुरक्षित छ । जहाँ सेना प्रमुखले आफूले मन लागेका बहालवाला सैनिक अधिकारीलाई सांसद बनाएर पठाउँछन् ।
सैनिक शासनकै बेला लेखिएको संविधान परिवर्तन गर्ने सू ची र उनको दल एनएलडीको प्रमुख माग हो । संविधान परिवर्तन वा संशोधन गर्न ७५ प्रतिशतभन्दा धेरै सांसदको सहमति हुनुपर्छ ।
पच्चीस प्रतिशत सांसद सैनिक हुने भएकाले सेनाको सहमतिबिना संविधान संशोधन हुँदैन । त्यसैले कोही विश्लेषक म्यान्मारको प्रजातन्त्रलाई ७५ प्रतिशत प्रजातन्त्र भनेर व्यङ्ग्य गर्छन् । सांसदबाहेक संविधान अनुसार गृह, रक्षा, सीमा सुरक्षासहितका मन्त्री र उपराष्ट्रपतिलगायत महत्वपूर्ण पद सेनाका लागि सुरक्षित छ ।
प्रमुख प्रतिपक्ष दल युएसडीपी पनि सेनाको समर्थन प्राप्त दल हो, जसले सन् २०१५ को चुनावमा ४१ सिट प्राप्त गरेको थियो । यसपटक केही सांसद सङ्ख्या घटेपनि युएसडीपी नै प्रमुख प्रतिपक्ष दल हुनेछ ।
चुनाव जिते पनि सू ची राष्ट्रपति हुन पाउँदिनन् । संविधानमै विदेशीसँग बिहे गरेकालाई म्यान्मारको राष्ट्रपति बन्न नमिल्ने बनाइएको छ । सू चीको बिहे बेलायती नागरिकसँग भएको हो । श्रीमान् मरिसके पनि उनका दुई छोरा बेलायतमा बस्छन् ।
यो निर्वाचनमा सेनाको लोकप्रियता भने घटेको देखिएको छ । सेना प्रमुख मिन आङ लेङले प्रत्यक्ष वा परोक्ष रुपमा धर्म र देशको सच्चा सेवकलाई मात्र भोट दिन पर्छ भन्दै युएसडीपीको पक्षमा चुनावी माहौल तयार पार्ने कोशिस गरेका थिए ।
यसपटक एनएलडीले मुसलमान समुदायका दुईजना उम्मेदवारलाई पहिलोपटक टिकट दिएकोमा कट्टरपन्थी बौद्धमार्गी बर्मेलीले त्यसको विरोध गरेका थिए । ती दुबै उम्मेदवार विजयी भएका छन् ।
मतदानको पाँच दिनअघि मात्र सेना प्रमुखले वक्तव्य र अन्तरवार्तामार्फत् चुनावमा अनियमितता भएको बताएका थिए । उनले एनएलडी सरकारले गठन गरेको निर्वाचन आयोगलाई असक्षमको आरोप पनि लगाएका थिए ।
आइतबार भोट खसालेपछि भने संवाददाताको प्रश्नमा सेना प्रमुख मिन आङ लेङले चुनावी परिणामलाई सेनाले स्वीकार गर्ने बताएका थिए । रोहिन्ज्या प्रकरणले सू चीलाई देश भित्र भने लोकप्रिय हुने अवसर दियो । उनले द हेग पुगेर मानव अधिकार उल्लंघन गरेको म्यान्मारी सेनाको पक्षमा वक्तव्य दिएपछि उनको लोकप्रियता बढेको आकलन अर्का विश्लेषक फ्यो विन लिन गर्छन् । सेना समर्थकले सू चीलाई देशको र आफ्नो जातिको भन्दा मुसलमानको माया गर्ने भनी चित्रित गर्न खोजेका थिए । त्यसैलाई चिर्न उनी द हेग पुगेको फ्यो विन लिन विश्वास गर्छन् ।
नेपालीभाषी उम्मेदवार पराजित
यो चुनावमा तीनजना नेपाली भाषी उम्मेदवार पनि थिए ।
शान प्रदेशका शंकर कँडेल, कचिन प्रदेशका गणेश बस्नेत र छिन प्रान्तका सुन्दर मान । तीनै जना उम्मेदवार एनएलडीका उम्मेदवारसँग पराजित भए । सुन्दर मान निकटतम प्रतिद्वन्द्वी भए । एनएलडीका उम्मेदवारले १५,३१७ ल्याएको ठाउँमा सुन्दर मानले ८,९९२ मत ल्याए । अरू दुई नेपाली भाषी उम्मेदवार बस्नेत र कँडेलले आफ्नो जमानत जोगाउन पनि सकेनन् ।
कोभिड–१९ का बेला चुनाव
नेपाली जस्तै करिब ४० लाख म्यान्मारी पनि वैदेशिक रोजगारीका लागि थाइल्याण्ड, सिंगापुर, कोरिया, जापान, दुबई र कतारसहित मध्यपूर्वका देशमा छन् । तिनले उतैबाट बिदाको दिन पारेर ती देशका म्यान्मारस्थित दुतावासमा भोट हाल्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको थियो । ४० देशमा रहेका म्यान्मारीले त्यस व्यवस्था अनुसार भोट हालेका थिए । यस्तै यसपटक कोभिड–१९ का कारण अग्रिम भोट हाल्ने (अर्ली भोटिङ) व्यवस्था पनि आयोगले गरेको थियो । लकडाउनका कारण आफ्नो निर्वाचन क्षेत्रमा जान नसक्नेलाई आफू बसेकै स्थानबाट आम चुनावको १० दिनअगाडि देखि नै भोट हाल्न दिने व्यवस्था निर्वाचन आयोगले मिलाएको थियो । सू ची र राष्ट्रपति विन मिन्टले पनि अर्ली भोटिङको फाइदा उठाए । त्यस्तै ६० वर्षभन्दा माथिका अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि पनि उनीहरू बसेकै ठाउँमा चुनावी अधिकारी मतपत्र र मत बाकस लिएर पुगेका थिए । बीबीसी
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार