ज्येष्ठ नागरिकलाई वृद्ध भत्ताको भर

शुक्रबार, असोज १५, २०७८

सप्तरी । सप्तरी महुवाकी ६१ वर्षिया रेणुदेवी मिश्रलाई वृद्धा भत्ताको भर छ। ४ छोरी र २ छोराकी आमा रेणु एकल भएको ७ वर्ष भयो । श्रीमान बितेदेखि उनको हातमा पैसा दिने कोही छैन । उनको चारवटै छोरीको विवाह भइसकेको छ । उनीहरू पनि शिक्षित नभएर श्रीमानको भर पर्नु परेको छ । एउटा छोरा विवाहिता भएकोले बुहारी र नातिलाई पाल्दै ठिक्क छ । पैसा आउने कुनै बाटो छैन । एकल महिलालाई दिँदै आएको भत्तामा भर पर्नु परेको उनी बताउँछिन् । उनले भनिन्, ‘चामल किन्ने बाहेक हरेक किनमेल यही पैसा बाट गर्छु । औषधि, मन लागेको खानेकुरा, लुगा किन्ने,नातिनातिनाको खर्च पनि यतैबाट चलाइरहेकी छु ।’

उनी कहिले पैसा आउने, कति आउँने भन्दै कयौं पटक सोधिसकेको छिमेकी निलु झाले बताइन् । उनको आशा र भरोसा नै वृद्धा भत्ता भएको निलुको भनाइ  छ । राजविराज ७ कि ७४ वर्षिया फुलेश्वरीदेवी यादव कृषक हुन् ।उनको खेतीयोग्य जग्गा १० कठ्ठा भए पनि तीन छोराले भाग लगाएर बाँडे । उनको पतिको मृत्यु भएको ६ वर्ष भयो । उनलाई तीनै जना छोराले पालैपालो चार चार महिना बस्न भने । उनी त्यसै गर्न लागिन् । उनलाई सबै छोराले गाई भैंसी चराउने, घाँस काट्न लगाउन थाले । उनलाई काम गर्न नसक्दा दुईछाक पेट भर्न काम गर्नै पर्ने बाध्यता थियो । उनले दुई वर्ष साह्रै दुःख गरिन् । उनी ७० वर्ष पुगेपछि मासिक तीन हजारको दरले चार महिनामा १२ हजार रूपैयाँ पाउन थालिन् । उनले भनिन्, ‘वृद्धा भत्ता पाउन थालेपछि मात्र जन्मदेखिको सबैभन्दा बढी सुख पाए ।’

सम्झना भएदेखि माइतीमा, बिवाह भएपछि घरमा, घरको काममात्र नभएर मजदुरी गर्नु पर्थ्यो। मजदुरी गर्दा पनि उनले पैसा नपाएर धान पाउँथिन् । उनले थपिन्, ‘आफ्नो हातमा पैसा आएको र आफ्नो इच्छाले खर्च गरेको थाहा छैन । वृद्धा भत्ता आउने वित्तिकै खाद्यान्न, औषधि आफै किन्छु । कुनै छोराछोरीको भर छैन । एउटामात्र भर वृद्धा भत्ताको छ ।’ वृद्धाभत्ताबाट आफ्नो जिविकोपार्जन आनन्दले चलाएर बसेको उनको भनाइ छ ।  राजविराज नगरपालिका २ कि ७० वर्षिया सावित्री देवी चौधरीले भनिन्, ‘वृद्धा भत्ताले ज्येष्ठ नागरिकलाई परिवारबाट इज्जत र सम्मान दिलाएको छ । उनीहरूको हरेक इच्छा, आकांक्षा पूरा गर्न सहयोग गरेको छ ।’ जीवनको आनन्द लिएर सुखले बाच्नले सिकाएको चौधरीको भनाइ छ ।
ज्येष्ठ नागरिक संघ सप्तरीका सचिव बैद्यनाथ झा भन्छन्, ‘वृद्धाभत्ताले ज्येष्ठ नागरिकको हिम्मत बढेको छ । बाँच्ने आश पलाएको छ ।’
विपन्न ज्येष्ठ नागरिकले पनि वृद्धा भत्ताबाट आएको रकम हरेक समस्या टारेर सुखको जीवन बिताउँदै छन् । परिवारबाट उनीहरूमाथि हुने हिंसा पनि घटेको धारणा सचिव झाको छ । उनी थप्छन्, ‘सम्पन्न परिवारका ज्येष्ठ नागरिकले पनि औषधि उपचार र व्यक्तिगत खर्चका लागि कसैसँग हात फैलाउनु पर्ने बाध्यता छैन ।’
२०६८–०७९ को बजेट भाषणमा सरकारले ज्येष्ठ नागरिकको लागि मासिक ४ हजार दिने घोषणापछि ज्येष्ठ नागरिकहरू अझै हर्षित भएको नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार