पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

व्युतिँदै पर्यटन क्षेत्र 
शुक्रबार, माघ २, २०७७

काठमाडौँ । कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले जीआइजेडको प्राविधिक सहयोग र गेट फाउण्डेशनको सहकार्यमा पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा मापदण्ड बनाएको हो । उक्त संस्थाको भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा स्टेफेन रोसेक र कार्यदलका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सुरक्षा प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालीम म्यानुअल सार्वजनिक गरे । 
यस परियोजनाले कोभिड–१९ पछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकका लागि सेवा तथा व्यवसाय सुचारु राख्नका लागि स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकका लागि सुरक्षा मापदण्ड बनाउने लक्ष्य राखेको छ  । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका छनोटमा परेका ११ नगरपालिकामा प्रशिक्षक (स्थानीय चैम्पियन्स) विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार पारिएको हो । 
सो अवसरमा डा स्टेफेन रोसेकले कोभिड–१९विश्वव्यापी स्वास्थ्य सङ्कट मात्र नभइ आर्थिक सङ्कटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रको पुर्नवहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने बताए । 
उनले जर्मन सहयोग संस्था जीआइजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको र पर्यटनको विकासमा पनि जर्मन सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । डा रसेकले प्रोटोकलले नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
संयोजक जोशीले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीले तालीम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औँल्याएको जानकारी दिए । सोही सर्वेक्षणका आधारमा पहिलो चरणको स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डसम्बन्धी तालीम सञ्चालन गर्न लागिएको हो । 
प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल चेप्टरका कोषाध्यक्ष खेम लकाइले स्थानीय तहमा प्रशिक्षक निर्माण गर्दा स्थानीयस्तरमा चाहिएको परिवर्तनलाई सहयोग र पैरवी गर्ने अवसर सिर्जना हुने बताए । 
निर्देशिकाकी सम्पादक अञ्जना खड्काले परियोजनाको अपेक्षित नतिजाको बारेमा जानकारी दिए । परियोजना संयोजक विवेक पौडेलले कार्यक्रमको पहिलो चरणपछि प्रशिक्षित व्यवसायीले प्रत्येक नगरपालिकामा २५० सेवा प्रदायकलाई थप प्रशिक्षण प्रदान गर्ने जानकारी दिए । पश्चिम नेपालमा कूल दुई हजार ७५० सेवा प्रदायक स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशिक्षित जनशक्ति तयार हुनेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  ०४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार