दैनिक ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट 

सोमबार, पुस २७, २०७७

काठमाडौं । सरकारले गत साउनमा सुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको संख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
गत महिनासम्ममा पाँच हजार ३०० सवारीसाधनले सो नम्बर प्लेट लिइसकेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । केही समययता सरकारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने क्रम बढिरहेको छ । अन्तिम म्याद नजिकिएकाले यो सङ्ख्या अझै बढ्ने अनुमान छ । 
सरकारले इम्बोस्ड नम्बर प्लेट लिन सरकारी सवारीसाधनका लागि विभागमा जाने व्यवस्था मिलाएको छ । निजी चारपाङ्ग्रे सवारीसाधनलाई टेकुस्थित भेहिकल फिटनेस सेन्टर र मोटरसाइकलका लागि गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ । निजी सवारीसाधनमा इम्बोस्ड लिनेको सङ्ख्या अझै कम रहेको विभागले जनाएको छ । विभागले यसको प्रयोग बढाउन नयाँ दर्ता हुने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । प्रगति कम भइरहेमा यो लटसम्म वा यो मितिसम्म लिनुपर्छ भनी अनिवार्य गरिने तयारी विभागको छ । 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण सुरु गरेका थिए । सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डका रुपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारीसाधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार दुई र ठूला सवारीका लागि तीन हजार ६०० रुपैयाँ राजश्व बुझाउनु पर्छ ।    
सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ ।–रासस 
 

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार